काठमाडौँ : आज(शुक्रबार)देखि संघीय संसद्को हिउँदे अधिवेशन शुरु भएको छ। दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सरकारले ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’,‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ पेश गर्नेछन्।
यस्तै ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लगायत अध्यादेश पेस गर्ने कार्यसूची छ।
यता आमचासोका रूपमा हेरिएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रतिनिधिसभामा विचाराधीन छ। वर्षौदेखि सिंहदरबारभित्रै घुमीफिरी अड्किएको शिक्षा विधेयक ०८० साल असोज २५ गते संसदबाट पारित भई दफावार छलफलका लागि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइयो।
तर दफावार छलफलका लागि प्रतिनिधिसभाको शिक्षा समितिमा पठाइएको एक वर्ष बितिसक्दा पनि समितिले टुंगोमा पुर्याउन सकेको छैन। उक्त विधेयक यही हिउँदे अधिवेशनमा पेस गर्ने सरकारको तयारी छ। तर आवश्यक छलफल, प्रक्रिया अझै पूरा हुन सकेको छैन।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सचिव दशरथ धमलाका अनुसार उक्त विधेयकमाथिको प्रदेश स्तरीय छलफल सकिएको छ। अब दफाबार छलफल गरी प्रतिवेदन तयार गरिनेछ। समितिले पुस ९ गतेदेखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट पहिलोपटक प्रदेश स्तरीय छलफल थालेको थियो।
हिउँदे अधिवेशनमा टेबल गर्छौ : सभापति थापा
हिउँदे अधिवेशनमा शिक्षा विधेयक टेबल हुन्छ कि हुँदैन भन्ने प्रश्नमा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले पेश गर्ने बताए। उनले भने, ‘यही हिउँदे अधिवेशनमै पेश गर्ने योजनासहित जोडतोडले लागेका छौँ, सबै पक्षले साथ दिनुभयो भने पेस हुन्छ नै।’
समितिका सचिव धमलाले पनि यही हिउँदे अधिवेशनमा पेश गर्ने गरी काम भइरहेको जानकारी दिए। ‘आमचासोका रूपमा हेरिएको यो विधेयक हो, यो ठूलो छ। त्यसैले गहन अध्ययन छलफल गर्नुपर्छ, त्यही अनुसार उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ, सकेसम्म यही अधिवेशनमा पेश हुन्छ’, उनले भने।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिका सभापति थापाले सबैलाई सन्तुष्टि हुने गरी विधेयक जारी गर्ने बताए। ‘यो विधेयक हचुवाको भरमा पेश गर्ने विषय होइन, गम्भीरतापूर्वक अनुसन्धान गरी विज्ञ,दल लगायतका सल्लाह सुझाव अनुसारको विधेयक बनाउनुपर्ने छ,त्यसैले पनि प्रक्रियाअनुसार जाँदा लामो समय लाग्यो,सबैलाई सन्तुष्टि हुने गरि विधेयक आउनेछ’‚ उनले भने।
उनका अनुसार अबको शिक्षा मोडल कस्तो हुनुपर्छ भनेर विद्यार्थी, शिक्षक, अभिभावक लगायतसँग अन्तरक्रिया गर्दै देखिएका, भोगेका समस्यासहितको रायसुझाव संकलन भइरहेको छ। ‘प्रदेशमा जानुको कारण चाहिँ अबको शिक्षा मोडल कस्तो हुनुपर्ने भनेर नागरिकलाई सोध्न गएका हौँ, हामी प्रत्येक प्रदेशका चार/पाँचवटा विद्यालयमा पनि हेछौँ, कमीकमजोरीलाई हेर्छौ’‚ उनले भने।
छिटो विधेयक जारी गर्न माग गर्दै शिक्षकको आन्दोलन घोषणा
नेपाल शिक्षक महासंघले हिजो(बिहिबार) पत्रकार सम्मेलन गरेर छिटो शिक्षा विधेयक जारी हुनुपर्ने माग राख्दै चरणबद्ध विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
महासंघले माघ २० गते सबै शिक्षक कर्मचारीले फेसबुक वालमा आयताकार रातो स्टिकर प्रयोग गरी ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ लेखी पोस्ट गर्ने कार्यक्रममा उल्लेख छ।
यस्तै, स्थानीय तहमा माघ २५ गते सबै पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने, फागुन ११ गते जिल्ला आन्दोलन परिचालन समितिको संयोजनमा सबै जिल्लाका सबै निर्वाचन क्षेत्रबाट निर्वाचित सङ्घीय सांसदलाई सरकार र महासङ्घबीच भएका विगतका सबै सहमति समावेश गरी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको उल्लेख छ।
त्यसैगरी महासंघले २०८१ फागुन १७ गते शनिवार काठमाडौँमा कालो पट्टीसहित बृहत् जुलुस प्रदर्शन तथा खबरदारी सभा गर्ने घोषणा गरेको छ।










