केशव भट्ट,बैतडी, जेठ १७ गते।
बैतडीमा बालविवाह अन्त्यका लागि अन्तरपुस्ता सम्वाद कार्यक्रम सञ्चालन गरिएको छ । पाटन नगरपालिका–२ स्थित सिद्धनाथ मावि सिलङ्गामा सम्वाद सञ्चालन गरिएको हो ।
परोपकार ग्रामीण विकास संघले बालविवाह अन्त्यका लागि सरोकारवालालाई जागरुक गराउने उद्देश्यले अन्तरपुस्ता सम्वादको आयोजना गरेको हो ।
अभिभावक र किशोरकिशोरीलाई एकै ठाउँमा राखेर उहाँहरु बीच बालविवाह न्यूनीकरणका बिषयमा सम्वाद सञ्चालन गरिएको परोपकार ग्रामीण विकास संघकी कार्यक्रम संयोजक कुन्ती भट्टले जानकारी दिनुभयो ।
अघिल्लो पुस्ताले सानो उमेरमा विवाह गर्दा भोग्नु परेका समस्या र अहिलेको पुस्ताले बालविवाह न्यूनीकरणका बिषयमा गरिरहेको प्रयासका बारेमा सम्वादमा छलफल गरिएको छ ।
अन्तरपुस्ता सम्वादमा सहभागी खेमराज ऐरले आफूले १० बर्षको उमेरमा विवाह गर्दा धेरै समस्या झेल्नुपरेको सुनाउँदै अहिले आफू बालविवाह न्यूनीकरणको अभियानमा सरिक भएको बताउनुभयो । कम उमेरमा विवाह गर्दा विभिन्न समस्या झेल्नुपरेको बताउँदै उहाँले अहिलेको पुस्ताले बालविवाह गर्न नहुने कुरामा जोड दिनुभयो ।
सानो उमेरमा विवाह गर्दा महिलाहरुले विभिन्न खालका समस्या झेल्नुपरिरहेको बताउँदै स्थानीय निर्मला ऐरले बालविवाह अन्त्यका लागि अभिभावकहरुले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । सानो उमेरको विवाहले आफ्नो जीवनमा पारेको असरबाट पाठ सिक्दै अहिले छोराछोरीलाई आफ्नो खुट्टामा उभिएपछि मात्रै विवाह गर्नुपर्छ भन्ने कुरा सिकाउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले त्यतिबेला सानै उमेरमा विवाह गर्दा धेरै झण्झट खेप्नुपरेको छ । त्यसैले अहिलेको पुस्तालाई परिपक्व भएपछिमात्रै विवाह गर्ने सल्लाह दिने गरेकी छु ।’
किशोरकिशोरीको शारीरिक, मानसिक र सामाजिक विकासमा बाधा पुग्ने भएकाले बालविवाह गर्न नहुने शिक्षक मोहनदेव भट्टले बताउनुभयो । कम उमेरमै विवाह गर्दा किशोरकिशोरीले शिक्षा ग्रहण गर्न नपाउने र यसले बेरोजगारी बढाउने उहाँले बताउनुभयो ।
अन्तरपुस्ता सम्वादमा सहभागी किशोरकिशोरीहरुले अभिभावकहरुको कुरा सुनेर बालविवाहले पार्ने असरका बारेमा व्यवहारिक ज्ञान भएको बताएका छन् । सानो उमेरका विवाह गर्दा समस्या भोगेकाहरुको अनुभव सुन्दा उमेर पुगेपछिमात्रै विवाह गर्नुपर्छ भन्ने कुराको ज्ञान भएको सहजकर्ता पवित्रा ऐरले बताउनुभयो । बालविवाह न्यूनीकरणका लागि आफूहरुले रुपान्तरण कक्षा सञ्चालन गरिरहेको र अभिभावकसँगको सम्वादले बालविवाह न्यूनीकरण अभियानमा सहयोग पुगेको उहाँले बताउनुभयो ।
बालविवाहका असरका बिषयमा दुई पुस्ताबीचको सम्वादले बालविवाह न्यूनीकरणका लागि महत्वपूर्ण सहयोग पुर्याउने शिक्षिक चन्द्रिका धामीले बताउनुभयो । सानो उमेरमा विवाह गर्दा विभिन्न खालका समस्या सिर्जना हुने भएकाले बीस बर्षपछि मात्रै विवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अभिभावक र किशोरकिशोरीबीचको अन्तरपुस्ता सम्वादले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको परोपकार ग्रामीण विकास संघका लेखा संयोजक हेमन्त अवस्थीले बताउनुभयो। परोपकार ग्रामीण विकास संघले गल्स फस्ट फण्डको सहयोगमा पाटन नगरपालिका वडा नं २ र ६ मा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
बालविवाह अन्त्यका लागि अन्तरपुस्ता सम्वाद
सेयर गर्नु हाेस
सम्बन्धित समाचार










