केशवराज भट्ट
बैतडी, वैशाख २० गते ।
शिक्षक आन्दोलनका कारण राष्ट्रिय परिक्षा बोर्डले वैशाख २१ गतेदेखि सारेको कक्षा १२ को परीक्षाकाे सबै तयारी पूरा भएको छ ।
१२ कक्षाको परीक्षाका लागि यस बर्ष बैतडीमा उन्नाइस ओटा केन्द्र निर्धारण गरिएको छ। जिल्लामा ६५ ओटा १२ कक्षा पढ़ाई हुने माध्यमिक तहका विद्यालय छन् । नियमित तर्फका लागि अठार ओटा र २०५७ सालयता छुटेका विद्यार्थीका लागि दशरथचन्द नगरपालिका ४ शाहिलेकस्थित बीरेन्द्र माविमा एउटा गरी उन्नाइस ओटा परीक्षा केन्द्र राखिएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र प्रसाद अवस्थीले बताउनुभयो ।
यसवर्ष जिल्लाभर चार हजार छ सय तेह्र जना विद्यार्थी १२ कक्षाको परीक्षामा सहभागी हुने इकाई प्रमुख अवस्थीले बताउनुभयो । गत बर्ष बैतडीमा चार हजार आठ सय पचपन्न जना परीक्षामा सहभागी हुनुभएको थियो ।
यसअघि बोर्डले कक्षा १२ को परीक्षा गत वैशाख ११ गतेदेखि गर्ने निर्धारण गरेको थियो । नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण परीक्षाको मिति सारिएको थियो ।
परीक्षा मार्यादित र व्यवस्थित बनाउन जिल्लाका उन्नाइस ओटै केन्द्रमा तीन सय जना कर्मचारी खटाइएको इकाई प्रमुख प्रमुख अवस्थीले बताउनुभयो । बिहान ८ बजेबाट जेठ २ गतेसम्म परीक्षा संचालन हुने तालिका छ।
देशभर १५ सय ९० परीक्षा केन्द्रबाट करिब पाँच लाख पचास हजार विद्यार्थी आइतवारदेखि हुने परीक्षामा सहभागी हुने छन् ।
बैतडीमा उन्नाइस ओटै केन्द्रमा १२ कक्षाको परीक्षा तयारी पूरा
सेयर गर्नु हाेस
सम्बन्धित समाचार










