केशवराज भट्ट
बैतडी, वैशाख २० गते ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बैतडी कारागारमा रहेका कैदीबन्दीलाई धार्मिक तथा साहित्यिक पुस्तक वितरण गरिएको छ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बैतडीले शनिबार कारागारमा रहेका ७३ जना कैदीबन्दीलाई पुस्तक वितरण गरेको हो ।
लामो समयदेखि कैदी जीवन बिताईरहेका बन्दीहरुलाई धार्मिक तथा साहित्यिक पुस्तकले जिवनमा सकारात्मक सोचको बिकास हुने विश्वास गरिएको पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष नरीदत्त बडुले बताउनुभयो ।
विभिन्न मुद्दामा कारागारमा बसिरहेका कैदीबन्दीहरुलाई अध्ययनका लागि पुस्तक वितरण गरिएको हो । यस्ले कैदीहरुको जीवनलाई हौसला र उत्प्रेरणा मिल्ने विश्वास गरिएको अध्यक्ष बडुले बताउनुभयो ।
१५ जना पुरुष र १०जना महिलाको क्षमता रहेको कारागारमा हाल ७३ जना पुरुष कैदीबन्दी रहेको जिल्ला कारागार शाखाले जनाएको छ।
कार्यक्रममा संविधान सभा सदस्य नरेन्द्र कुँवर (विजयसुन्दर) बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, प्रहरी नायब उपरीक्षक मुकेन्द्र मिश्र, सशस्त्र प्रहरी प्रमुख लक्ष्मण थापा, जिल्ला अनुसन्धान प्रमुख दिगम्बर गिरी, शिक्षा समन्वय इकाई प्रमुख नरेन्द्र प्रसाद अवस्थी, स्वास्थ्य प्रमुख तीर्थराज भट्ट, कानुन व्यवसायी दिपेन्द्र बहादुर चन्द तथा विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधि र सरोकारवालालगायतको सहभागीता रहेको महासंघका जिल्ला उपाध्यक्ष लक्ष्मण बिसीले बताउनुभयो ।
कैदीबन्दीलाई भागवत गीता, चारवटै वेदको नेपाली सारांश, चाणक्य नीतिलगायतका धार्मिक तथा अन्य ज्ञानवर्धक उपन्यास तथा जिवनीसम्बन्धी पुस्तक वितरण हो। कारागार तथा कैदवन्दीका समस्या तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका बारेमा समेत अन्र्तक्रिया कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा उपस्थित संविधानसभा सदस्य कुँवरले प्राप्त पुस्तकहरु अध्ययन गरेर कैदवन्दीहरुले सकारात्मक सोचको विकास गर्नुपर्ने बताउनुभयो । साथै उहाँले लोकतान्त्रिक गणतन्त्र फस्टाउनका लागि स्वतन्त्र प्रेस हुनुपर्ने कुरामा जोड दिनुभएको छ । संचारमाध्यमले खोजमुलक तथा जनताका आवाजहरुलाई उजागर गर्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा उपस्थित कानून व्यवसायी तथा नेपाली कांग्रेसका सहसचिव दिपेन्द्र बहादुर चन्दले लोकतन्त्र र स्वतन्त्र प्रेस एक अर्काका लागि अपरिहार्य तथा अनिवार्य भएको बताउनुभयो । लोकतान्त्रिक मुलुकमा मात्रै स्वतन्त्र प्रेस हुने कुरामा जोड दिदै उहाँले राज्यको चौथो अंगका रुपमा मानिएको प्रेसले जनताको आवाज बोल्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्रेस स्वतन्त्रता दिवसमा कैदीबन्दीलाई पुस्तक वितरण
सेयर गर्नु हाेस
सम्बन्धित समाचार










