बैतडी : भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका-२ मेलखोलामा हाइस दुर्घटना भएको छ। कैलालीको धनगढीबाट बैतडीको पुर्चौँडीतर्फ आउँदै गरेको सुपप्र ०२००१ ज ०५६७ नम्बरको विद्युतीय हाइस मङ्गलवार राती करिब ११ः३० बजे दुर्घटनामा परेको हो।
दुर्घटनामा बैतडी डिलासैनी गाउँपालिका-४ का ४५ वर्षीय हर्क बहादुर नेगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो। उनको उपचारका क्रममा बुधवार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
अनियन्त्रित भएर भएको दुर्घटनामा ६ जना घाइते भएका छन्। घाइते हुनेहरूमा बैतडी डिलासैनी गाउँपालिका-४ का २७ वर्षीय धिरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय राम बहादुर नेगी, ६५ वर्षीया धना नेगी र रहेका छन्।
यस्तै गाडीका चाल बैतडी पुर्चौँडी नगरपालिकाका करिब २४ वर्षीय अशोक बम पनि गम्भीर घाइते भएका छन्। घाइतेहरूको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।










