बैतडी, वैशाख ६ गते । बैतडीको पुर्चौंडीमा तीन दिने स्वास्थ्य शिविर शुक्रबारदेखि शुरु भएको छ ।
बैतडी समाज कैलाली र पुर्चौंडी नगरपालिकाको संयुक्त आयोजनामा शिविर शुरु भएको हो ।
शिविरमा बिशेषज्ञ चिकित्सकहरुले सेवा दिइरहेको बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिनुभयो।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत समाजले हरेक बर्ष स्थानीय सरकारहरुसंग सहकार्य गरेर शिविर सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।
जिल्लाको पुर्चौंडी बहुमुखी क्याम्पसको भवन र पुरानो स्वास्थ्य चौकीको भवनमा शिविर सञ्चालन भइरहेको भट्टले बताउनुभयो ।
तीन दिनसम्म सञ्चालन हुने शिविरमा मुटु रोग सम्बन्धी जाँच, जनरल जाँच, हाडजोर्नी तथा नसा रोग सम्बन्धी जाँच, आँखा जाँच लगायतका सेवाहरु प्रदान गरिने शिविर संयोजक गजेन्द्रबहादुर चन्दले बताउनुभयो ।
बैतडी समाज कैलालीले दुर्गमका नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच पुर्याउन शिविर आयोजनामा सहकार्य गरेको शिविर संयोजक चन्दले बताउनुभयो ।
शिविरको शुक्रबार एक कार्यक्रमकाबीच औपचारिक उद्दघाटन गरिएको हो । पुर्चौंडी नगरपालिकाका प्रमुख दिपकबहादुर बमको अध्यक्षतामा भएको शिविर उद्दघाटन कार्यक्रममा सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का प्रमुख अतिथी रहनुभएको थियो ।
शिविर उद्दघाटन सत्रमा बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्ट, धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्द, लोकतान्त्रिक निर्माण व्यवसायी संघका सुदूरपश्चिम अध्यक्ष मदन कुँवर, पुर्चौंडी नगरपालिकाका उपप्रमुख मीना धानुक, विभिन्न वडाका वडा अध्यक्ष,च्यारिटी हेल्थ फाउण्डेसन नेपालका कोषाध्यक्ष राधाकुमारी बमलगायतको उपस्थिती रहेको थियो।
शिविरको उद्दघाटन गर्दै सामाजिक विकास राज्यमन्त्री खड्काले स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले यसको प्रत्याभूती गर्नका लागि तीनै तहका सरकार सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
बैतडी समाज कैलालीले गरिरहेको प्रयासमा प्रदेश सरकारले सहयोग गर्ने बताउँदै उहाँले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गरिने बताउनुभयो ।
यस्तै नगरपालिकाका प्रमुख दिपकबहादुर बमले नगर सरकारले स्वास्थ्य सेवामा नगरबासीको पहुँच बढाउन नगर सरकारले भरपुर सहयोग गरिरहेको बताउनुभयो ।
पुर्चौंडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले नगर क्षेत्रका नागरिकलाई उहाँहरुको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउन शिविरको आयोजना गरिएको बताउनुभयो ।
बृहत स्वास्थ्य शिविरमा शनिबार रक्तदान कार्यक्रम समेत रहेकाले सहभागिता जनाउन सबैलाई आग्रह गरिएको समेत जोशीले बताउनुभयो ।

बैतडीकै बिकट मानिने पुर्चौंडी नगरपालिकामा सञ्चालन भइरहेको बृहत स्वास्थ्य शिविरमा सहभागी भएर स्वास्थ्य सेवा लिन नगरपालिकाले सबैमा आग्रह गरेको नगरपालिकाले जनाएको छ।










