बैतडी: नेपाली कांग्रेसले बैतडीको पञ्चेश्वरमा वडा सम्मेलन शुरु गरेको छ । जिल्लाका ८४ ओटै वडामा सम्मेलन गर्ने योजना अनुसार आइतबारदेखि पञ्चेश्वरमा वडा सम्मेलन शुरु भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए ।
वडा सम्मेलनमा क्रियाशील सदस्यता नवीकरण, नयाँ क्रियाशील सदस्यताका लागि फारम वितरण र जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्ने गरिएको सचिव जोशीले बताए ।
नेपाली कांग्रेसको विधान अनुसार क्रियाशील सदस्यता पाएकाहरुको नवीकरण गरेर उनीहरुलाई सदस्यता प्रमाणपत्र वितरण गर्ने गरिने उनले बताए । नयाँ सदस्यहरुलाई पार्टीमा आवद्ध गर्ने कार्य भइरहेको सचिव जोशीले बताए ।
वडा सम्मेलनमा नेपाली कांग्रेसमा आवद्ध जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्ने र जेष्ठ नागरिकहरुलाई पार्टीकातर्फबाट सम्मान गर्ने गरिएको सचिव जोशीले बताए ।
नेपाली कांग्रेस बैतडीले जिल्लाका दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकामा क्रियाशील सदस्यता वितरण, वडा सम्मेलन र जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरिसकेको सचिव जोशीले बताए ।
आगामी वैशाखभित्र जिल्लाका १० ओटै पालिकाका ८४ ओटै वडामा सम्मेलन सम्पन्न गर्नुका साथै क्रियाशील सदस्यता वितरण र जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान कार्यक्रम सम्पन्न गर्ने लक्ष्य रहेको सचिव जोशीले बताए ।
पञ्चेश्वरमा वडा सम्मेलन गर्नका लागि सभापति चन्दका साथै सचिव देवराज जोशी, सहसचिव दशरथसिंह चाड, क्रियाशील सदस्यता छानबीन समिति संयोजक रमेश बोहरा, क्षेत्रीय सभापति शिवराज भट्ट, महाधिवेशन प्रतिनिधि कर्णसिंह साउँद, जिल्ला सदस्य कुष्मा चन्द लगायतका नेताहरु खटिएका नेपाली कंग्रेस जिल्ला कार्य समिति बैतडीले जनाएको छ।










