चैत १ गते। बैतडीमा झन्डै १७ हजार राष्ट्रिय परिचयपत्र कार्यालयमा थन्किएका छन् । सेवाग्राहीले लिन नआउँदा छपाइ भएर आएका १६ हजार ९०८ थान राष्ट्रिय परिचय पत्र कार्यालयमै रहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी पवन कुमार शाहीले जानकारी दिनुभयो ।
एक वर्ष पहिले नै २० हजार परिचयपत्र जिल्लामा पुगेको भए पनि तीन हजार ९२ परिचयपत्र मात्रै वितरण भएको उहाँले बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र लिन आउँदा फाराम भर्दा जस्तै बायोमेट्रिक प्रणालीबाट रुजु गर्नुपर्ने र प्रणालीले सबै मिलेको जनाएपछि परिचय पत्र दिन मिल्ने सूचना अधिकारी शाहीले बताउनुभयो ।
‘राष्ट्रिय परिचय पत्र छपाई भएसकेपछि जिल्ला प्रशासन कार्यालयमा पुगिसकेको जानकारी सम्बन्धीत व्यक्तिको मोवाइलमा पुग्ने गर्छ , ‘ उहाँले भन्नुभयो, ‘कतिपय अवस्थामा त्यस बारेमा जानकारी नहुँदा परिचय पत्र लिन नआएका हुन सक्छन् । ‘
अध्ययन तथा रोजगारीका लागि जिल्लाबाहिर भएकाले राष्ट्रिय परिचय पत्र लिन नआएको हुन सक्ने उहाँको भनाई छ । भौगोलिक विकटता भएका कारणले पनि अत्यावश्यक भएमात्रै राष्ट्रिय परिचयपत्र लिन आउने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बैंक खाता खोल्नेलगायतका अत्यावश्यक काममा सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट अहिले पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको काम भैरहेको कम्प्युटर अपरेटर सुरेन्द्रदेव भट्टले बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र लिने भन्दा फाराम भर्नेको संख्या बढिरहेको कम्प्युटर अपरेटर भट्टले बताउनुभयो । दैनिक ९० देखि १०० जना सम्म राष्ट्रिय परिचयपत्रका लागि फाराम भर्न आउने गरेको उहाँले जानकारी दिनुयभयो । छपाइ भएर जिल्लामा पुगेको परिचय पत्र लिनका लागि ८/१० जना मात्रै आउने गरेका कम्प्युटर अपरेटर भट्टले बताउनुभयो ।
बैतडीमा राष्ट्रिय परिचय पत्रका लागि १ लाख २२ हजार ९२० जनाको विवरण संकलन गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
बैतडीमा १७ हजार राष्ट्रिय परिचयपत्र थन्किए
सेयर गर्नु हाेस
सम्बन्धित समाचार
लेखकबाट थप
कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।









