बैतडी, भदाै २७ गते । बैतडीको पाटनमा उदयदेव पाटन प्रिमियर लिग (युपीपीएल)–६ आयोजना हुने भएको छ । पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता कार्तिक ८ गतेदेखि सञ्चालन हुने भएको हो ।
पाटन एकता समाजको आयोजनामा हुने प्रतियोगितामा प्रत्येक टोलीले बैतडी जिल्लाबाहिरका बढीमा तीन जना खेलाडी सहभागी गराउन पाउने आयोजक पाटन एकता समाजका अध्यक्ष किरन चन्दले जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि टोली दर्ता गर्ने समय असोज २७ गते राति १२ बजेसम्म तोकिएको छ । प्रतियोगिताको विजेताले एक लाख ५५ हजार ६६६ रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीले ५५ हजार ६६६ रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
त्यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिने भएको छ । म्यान अफ द सिरिजलाई ट्रफीसहित १३ हजार ६६६ रुपियाँ, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही पाँच हजार ६६६ रुपियाँ तथा उदयमान खेलाडीलाई तीन हजार ६६६ रुपियाँ पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई समेत नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
पाटन एकता समाजले यसअघि प्रतियोगिताका पाँच संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यस वर्षको प्रतियोगितालाई थप व्यवस्थित र उत्साहजनक रूपमा सञ्चालन गर्ने तयारी भइरहेको समाजका सचिव हरिश केसीले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता टोलीले घोषित पुरस्कार रकममा आकस्मिक लाभकर नकाटिकनै पूर्ण रकम प्राप्त गर्ने क्लबका कोषाध्यक्ष वीरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।



