केशव भट्ट, बैतडी, भदौ २४ गते । भौतिक संरचना र बिरामीको चापअनुसार सेवा विस्तार गर्नुपर्ने भन्दै जिल्ला अस्पताल बैतडीलाई ५० शैय्यामा स्तरोन्नति गर्न माग गरिएको छ ।
अस्पताल व्यवस्थापन समितिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई ज्ञापन पत्र बुझाउँदै अस्पतालसँग ५० शैय्या सञ्चालनका लागि आवश्यक भौतिक संरचना रहेकाले स्तरोन्नति गर्न माग गरेको हो ।
समितिका अध्यक्ष धनबहादुर क्षेत्री (जगदीश)का अनुसार भौगोलिक विकटता तथा बिरामीको चापलाई ध्यानमा राख्दै हाल १५ शैय्यामा सञ्चालन भइरहेको अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गर्न आवश्यक छ ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले अस्पताल स्तरोन्नतिका लागि आफू सकारात्मक रहेको बताउनुभएको अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।
अस्पताललाई स्तरोन्नति गर्न माग गर्दै समितिले प्रदेश सरकारलाई तेस्रो पटक ज्ञापन पत्र बुझाएको हो । यसअघि प्रदेश सरकारले नीति तथा कार्यक्रममा जिल्ला अस्पताललाई २५ शैय्यामा स्तरोन्नति गर्ने उल्लेख गरेको थियो ।



