केशवराज भट्ट, बैतडी, वैशाख २५ गते ।
नेपाली सेनाको श्रीबक्स गुल्मले बैतडीमा संयुक्त मनसुन प्रतिकार्य अभ्यास सञ्चालन गरेको छ । नजिकिदो वर्खामा हुन सक्ने विपद्का घटनालाई मध्यनजर गर्दै पूर्वतयारी स्वरुप बैतडीमा रहेको श्रीबक्स गुल्मको आयोजनामा सञ्चालन गरिएको प्रतिकार्य अभ्यास गरिएको हो । अभ्यासमा जिल्लामा रहेका तीनवटै सुरक्षा निकायसहित रेडक्रस, स्थानीय तह तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
दशरथचन्द नगरपालिका ५ सुन्दरखालीमा अभ्यास सञ्चालन गरिएको श्रीबक्स गुल्मका गुल्मपति सेनानी सफल थापाले जानकारी दिनुभयो । विपद्सँग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद व्यवस्थापन समिति, नागरिक समाज, नेपाल रेडक्रस, जिल्लामा कार्यरत अन्य सुरक्षा निकायहरु, स्थानीय तह र अन्य सरोकारवालासँग समन्वय गरेर अभ्यास गरेको उहाँले बताउनुभयो । यो अभ्यासले विपद्को समयमा खोज उद्धारमा सहयोग पुग्ने सेनानी थापाले बताउनुभयो ।
अभ्यासका क्रममा भीरमा अड्केको घाईतेको रक क्लाईम्बिङ्ग रेस्क्यु, गहिरा खाडल तथा खोचमा अड्केकाको हाई ल्याण्ड रेस्क्यू र पहिरोबाट विस्थापितको लागि आपतकालीन आवास निर्माण सम्बन्धी अभ्यास सञ्चालन गरिएको श्रीबक्स गुल्मले जनाएको छ ।
उक्त अभ्यासमा श्रीबक्स गुल्म, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, रेडक्रस, जिल्ला अस्पताल र अन्य सरोकारवाला निकाय तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
उक्त अभ्यासले मनसुन पूर्वको तयारी र विपद प्रतिकार्य सम्बन्धी जिल्लामा बनेका योजना कार्यान्वयन गराउन र विपदको बेला उद्धार तथा प्रतिकार्यका लागि सहयोग मिल्ने बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।
विपद जुनसुकै अवस्थामा पनि आउनसक्ने भएकोले पूर्वतयारी र स्थानीय बासिन्दालाई पनि सँगै राखेर अभ्यास गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विपद्को बेला परिचालित हुने जनशक्ति, उद्धार कार्यको लागि चाहिने स्रोतसाधनको प्रभावकारीता परीक्षण गरी तयारी अवस्थामा राख्न अभ्यास गरिएको छ । यसले पक्कै पनि विपद् न्यूनीकरण गर्न सहज हुनेछ । ‘ अभ्यास कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन र सरोकारवाला बीच अनुभव साटासाट पनि गरिएको छ ।
विपद प्रतिकार्य अभ्यास गर्दै नेपाली सेना
सेयर गर्नु हाेस
सम्बन्धित समाचार
लेखकबाट थप
कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।









