वाशुलिङ बैतडी, चैत ११ गते । “हो, हामी क्षयरोग अन्त्य गर्छौँः राष्ट्रिय अभियान, हाम्रो योगदान” भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय बैतडीले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा गाउँ–गाउँमा क्षयरोगका बिरामी लुकेर बसिरहेका हुनसक्ने औँल्याइएको छ।
चालु आर्थिक वर्षमा बैतडीमा ८७ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र सिंह कार्कीका अनुसार यस वर्ष ६६ पुरुष र २१ महिला गरी ८७ जना बिरामी उपचाररत रहेका छन्।
गत आर्थिक वर्षमा २०३ जना क्षयरोगका बिरामी फेला परेका थिए। यस वर्ष तुलनात्मक रूपमा संख्या घटेको देखिए पनि लुकेका बिरामी हुनसक्ने भएकाले जोखिम अझै कायम रहेको उहाँले बताउनुभयो। रोग नियन्त्रणका लागि जिल्लाका विभिन्न स्वास्थ्य संस्थामार्फत निःशुल्क परीक्षण तथा औषधि वितरण गरिँदै आएको छ। क्षयरोगीको पहिचानका लागि जिल्लाभर अभियानलाई तीव्र पारिएको छ।
स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टका अनुसार विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी क्षयरोग पहिचान अभियानलाई प्रभावकारी बनाइएको छ। सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिकामा ‘क्षयरोगमुक्त पालिका अभियान’ समेत सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो।
विश्व क्षयरोग दिवसको अवसरमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा क्षयरोगको समयमै पहिचान र उपचारका लागि जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष करिब ६७ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन्।
मार्च २४ का दिन मनाइने विश्व क्षयरोग दिवसले क्षयरोग नियन्त्रणका लागि जनचेतना फैलाउने तथा समयमै पहिचान र उपचारमा जोड दिन प्रेरित गर्ने उद्देश्य राखेको छ। नेपालमा प्रमुख जनस्वास्थ्य समस्यामध्ये एकका रूपमा रहेको क्षयरोग नियन्त्रणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।










