भारतबाट फर्किने श्रमिकमार्फत संक्रमण बढी फैलिएको स्वास्थ्य निर्देशनालयको निष्कर्ष
धनगढी, चैत १० गते । सुदूरपश्चिम प्रदेशमा हाल ३ हजार ८१२ जना एचआइभी संक्रमित उपचारमा रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। सोमबार धनगढीमा आयोजित एक कार्यक्रममा ती संक्रमितहरूले एआरटी (एन्टिरिट्रोभाइरल थेरापी) औषधि सेवन गरिरहेको जानकारी दिइएको हो।
निर्देशनालयका क्षयरोग तथा कुष्ठरोग अधिकृत मनोज ओझाका अनुसार एड्स हेल्थ फाउण्डेसन नेपालको सहयोगमा प्रदेशमा एचआइभी संक्रमित लक्षित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। अन्तर्राष्ट्रिय संस्था एड्स हेल्थ फाउण्डेसनले विश्वका करिब ५० देशमा एचआइभी तथा एड्स सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।
नेपालमा उक्त संस्थाले १९ वटा एआरटी केन्द्र तथा दुईवटा सीमा नाकामा सहकार्य गर्दै सेवा सुदृढीकरणमा सहयोग गर्दै आएको छ। सुदूरपश्चिम प्रदेशमा भने चार वटा एआरटी केन्द्रमार्फत प्रत्यक्ष सहयोग प्रदान भइरहेको निर्देशनालयले जनाएको छ। समुदायस्तरमा जनचेतना अभिवृद्धि, जोखिम समूह लक्षित कार्यक्रम सञ्चालन, परीक्षण सेवाको विस्तार तथा गुणस्तरीय उपचारमा पहुँच सुनिश्चित गर्न संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
प्रदेशमा विशेषगरी भारतमा रोजगारीका लागि जाने श्रमिकमार्फत एचआइभी संक्रमण फैलिने गरेको तथ्याङ्कले देखाएको अधिकृत ओझाले जानकारी दिए। हाल सुदूरपश्चिममा १९ वटा एचआइभी परीक्षण तथा परामर्श केन्द्र, १९ वटा एआरटी सेवा केन्द्र र तीन वटा भाइरल लोड परीक्षण केन्द्र सञ्चालनमा रहेका छन्।
तथ्याङ्कअनुसार सबैभन्दा बढी एचआइभी संक्रमित कैलालीको गोदावरी नगरपालिकामा २९१ जना रहेका छन्। प्रदेशका ८८ वटा स्थानीय तहमध्ये ६ वटा पालिकामा एचआइभी संक्रमितको संख्या शून्य रहेको छ।
कम्तीमा १० जना संक्रमित रहेका पालिकाको संख्या २६, कम्तीमा २० जना संक्रमित रहेका पालिकाको संख्या १७, कम्तीमा ५० जना संक्रमित रहेका पालिका १६ र कम्तीमा १ सय जना संक्रमित रहेका पालिका १३ रहेका छन्। दुई वटा पालिकामा भने २ सयभन्दा बढी संक्रमित रहेको निर्देशनालयले जनाएको छ।
एचआइभी संक्रमितमाथि हुने भेदभाव अन्त्य गर्न पत्रकारमार्फत जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको एड्स हेल्थ फाउण्डेसन नेपालले जनाएको छ।














