केशवराज भबैतडी, फागुन २५ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामपछि नेपाली कांग्रेस बैतडीले जिल्लाका सबै स्थानीय तहमा चुनावी समीक्षा तथा भेटघाट कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कांग्रेस बैतडीका सचिव देवराज जोशीका अनुसार मंगलबारदेखि जिल्लाका १० वटै पालिकामा चुनावी समीक्षा तथा भेटघाट कार्यक्रम आयोजना गरिनेछ ।
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्द राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीसँग पराजित भएपछि पार्टीले निर्वाचनको समीक्षा गर्न कार्यक्रम तय गरेको हो ।
कांग्रेसका उम्मेदवार एवं जिल्ला सभापति चन्दसहितको सहभागितामा सबै पालिकामा समीक्षा तथा भेटघाट कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
निर्धारित कार्यतालिका अनुसार फागुन २६ गते बिहान ११ बजे पञ्चेश्वर गाउँपालिकाको आमचौरा र दिउँसो ३ बजे शिवनाथ गाउँपालिकाको सुल्लेखानमा कार्यक्रम आयोजना गरिनेछ ।
त्यसैगरी फागुन २७ गते बिहान ११ बजे मेलौली नगरपालिकाको काँडा र दिउँसो ३ बजे पाटन नगरपालिकाको पाटन बजारमा समीक्षा कार्यक्रम हुने जनाइएको छ ।
यस्तै फागुन २८ गते बिहान ११ बजे सिगास गाउँपालिकाको गर्जे, फागुन २९ गते दिउँसो १२ बजे पुर्चौंडी नगरपालिकाको हाट र फागुन ३० गते बिहान ११ बजे डिलाशैनी गाउँपालिकाको धामीगाउँमा कार्यक्रम तय गरिएको छ ।
आगामी चैत १ गते बिहान ११ बजे दोगडाकेदार गाउँपालिकाको खिरीगाउँ र दिउँसो ३ बजे सुर्नया गाउँपालिकाको डुङरीमा कार्यक्रम आयोजना गरिनेछ ।
यस्तै चैत २ गते बिहान ११ बजे दशरथचन्द नगरपालिकाको चुनावी समीक्षा कार्यक्रम पार्टी कार्यालय गोठलापानीमा सम्पन्न गरिने कांग्रेस बैतडीले जनाएको छ ।











