केशव भट्ट। फागुपूर्णिमा अर्थात् होली आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै मनाइने यो पर्व आपसी मेलमिलाप र सद्भावको प्रतीक मानिन्छ ।
केही वर्षअघि काठमाडौँ उपत्यकामा उच्छृङ्खल रूपमा मनाइने होली पछिल्लो समय प्रहरीको सक्रियताले सभ्य बन्दै गएको छ । इच्छाविपरीत रङ दल्ने र फोहोर पानी छ्याप्ने गतिविधि लगभग रोकिएका छन् ।
वसन्तपुरमा गाडिएको ‘चिर’ आज विधिपूर्वक ढाली टुँडिखेलमा जलाउने परम्परा छ । चिरको खरानी टीका लगाउँदा अनिष्ट टर्ने जनविश्वास छ । तराई–मधेसमा भने भोलि होली मनाइन्छ ।
यसैबीच निर्वाचन आयोग ले प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै भीडभाड नगरी मर्यादित रूपमा पर्व मनाउन आग्रह गरेको छ ।
कन्सर्ट तथा ठूला सांगीतिक कार्यक्रमलाई अनुमति दिइएको छैन ।प्रहरीले पनि सुरक्षा व्यवस्था कडा पार्दै शान्तिपूर्ण रूपमा होली मनाउन अनुरोध गरेको छ । नेपालसहित भारत लगायत विभिन्न देशमा फरक नाम र परम्परामा यो उत्सव मनाइए पनि यसको मूल सन्देश भने आपसी सद्भाव र एकता नै हो ।








