केशव भट्ट, बैतडी, फागुन ४ गते ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका केन्द्रीय सदस्य नरेन्द्रप्रसाद भट्टको मातृशोकप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन ललितपुरबाट जारी समवेदना सन्देशमा भट्टकी माता मानमतीदेवी भट्टको ८८ वर्षको उमेरमा माघ २५ गते निधन भएको खबरले आफू मर्माहत भएको उल्लेख गरिएको छ ।
सभापति थापाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।उक्त समवेदना सन्देश नेपाली कांग्रेस बैतडीका जिल्ला सभापति तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार चतुर बहादुर चन्दले भट्ट निवासमै पुगेर परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।
शोकको घडीमा केन्द्रबाट आएको समवेदना पत्र घरमै बुझाइएको भन्दै यसलाई पार्टी नेतृत्वको आत्मीयता र साथको रूपमा लिइएको छ ।
यस अवसरमा जिल्ला सभापति चन्दले पनि भट्ट परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको जनाइएको छ ।
शोकको यस कठिन घडीमा समवेदना प्रकट गर्नुहुने पार्टी सभापति थापा, जिल्ला सभापति चन्द तथा सम्पूर्ण आफन्तजनप्रति भट्ट परिवारले धन्यवाद व्यक्त गरेको छ । परिवारले दुःखको समयमा पार्टी नेतृत्व र शुभेच्छुकबाट प्राप्त साथ–सहयोगले आफूहरूलाई धैर्य मिलेको जनाएको छ ।












