केशव भट्ट, बैतडी । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी (वसन्त पञ्चमी) आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गर्दै देशभर श्रद्धा र भक्तिसाथ मनाइँदैछ।
वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि र सृजनात्मक क्षमतामा वृद्धि हुने धार्मिक विश्वास रहिआएको छ। यही विश्वासका कारण आज देशभरका सरस्वती मन्दिरहरूमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ।
विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिन अक्षरारम्भ गराउने परम्परा रहेको छ भने लेखपढ सुरु गराए राम्रो विद्या प्राप्त हुने मान्यता छ।
चन्द्रमाजस्तै गोरो वर्ण भएकी, हातमा वीणा र पुस्तक धारण गरेकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीलगायत विभिन्न नामले पुकार्ने गर्छन्।
विद्या र सृजनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक तथा विद्यार्थीहरूले कलम, कापी, कुची, वाद्ययन्त्रजस्ता साधनालाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। तान्त्रिक साधकहरूले भने तारादेवीका रूपमा सरस्वतीको आराधना गर्ने परम्परा रहेको छ।
सूर्य उत्तरायण लाग्ने, दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका कारण यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ। ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्ध ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाबाट ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने धार्मिक मान्यता छ। गान्धर्व पुराणमा पनि आजको दिन सरस्वती पूजा गरी विद्यारम्भ गरे सर्वसिद्धि प्राप्त हुने उल्लेख गरिएको छ।
श्रीपञ्चमीका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने तथा बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्न नपर्ने विश्वास रहे पनि यस वर्ष शुक्र अस्त भएकाले यस्ता शुभकर्म भने गरिँदैनन्। यस दिन बालबालिकालाई शिक्षा आरम्भ गराउनुका साथै नाक–कान छेड्ने चलनसमेत रहेको छ।
उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत देशका विभिन्न जिल्लामा रहेका सरस्वती मन्दिरहरूमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, विशेषगरी छात्रछात्राको घुइँचो लागेको छ।
सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निले विद्या र बुद्धि स्फुरण भई चेतनाको ज्योति प्राप्त हुने धार्मिक विश्वाससमेत रहिआएको छ।
नासल चोकमा वसन्त श्रवण
श्रीपञ्चमीका अवसरमा हनुमानढोका दरबारस्थित नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने परम्परा अनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्नुहुने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीका अनुसार शुक्रबार बिहान १०ः२७ बजे शुभसाइत रहेको छ।
वसन्त श्रवण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रियसभा अध्यक्ष तथा सदस्यहरू, संवैधानिक अङ्गका प्रमुख तथा सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। कार्यालयका अनुसार वसन्त श्रवणका सबै तयारी पूरा भइसकेका छन्।










