केशव भट्ट, बैतडी । नेपाली कांग्रेस बैतडीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बृहत भेला आयोजना गर्ने भएको छ ।
आगामी माघ १० गते बिहान १० बजेदेखि पाटन नगरपालिकाको एकीकृत सभाहलमा भेला आयोजना गरिएको कांग्रेस बैतडीले जनाएको छ ।
निर्वाचन केन्द्रीत रणनीति, संगठन सुदृढीकरण तथा भावी कार्यदिशाबारे छलफल गर्न आयोजना गरिएको भेलामा पार्टी तथा भातृ संस्थाका वडादेखि केन्द्रीय तहसम्मका पदाधिकारी, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका पूर्व पदाधिकारीहरुलाई सहभागी हुन आह्वान गरिएको छ
आसन्न निर्वाचनमा कांग्रेस बैतडीबाट जिल्ला सभापति चतुरबहादुर चन्द प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षसमेत रहेका चन्द पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका हुन् ।
शिक्षण पेशासँगै लामो समय क्रिकेट विकासमा सक्रिय चन्द २०७४ सालमा शिक्षक सेवाबाट अवकाश लिएपछि सक्रिय राजनीतिमा आएका थिए ।
त्यसअघि नेपाल शिक्षक संघ बैतडीको जिल्ला अध्यक्ष रहँदै जिल्लाको राजनीतिमा प्रभावशाली भूमिका निर्वाह गरेका चन्द शिक्षक संघको नेतृत्वका क्रममा गाउँगाउँसम्म संगठन विस्तार गर्न सफल भएका थिए । पछिल्लो समय नेपाली क्रिकेटले हासिल गरेको सफलतासँगै उनी झन् बढी लोकप्रिय बन्दै गएका छन् ।
चन्दको उम्मेदवारीसँगै कांग्रेस नेता–कार्यकर्ता उत्साहित भएका छन् । अघिल्लो निर्वाचनमा गठबन्धनका कारण माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्न बाध्य भएका कांग्रेस कार्यकर्ता यसपटक आफ्नै दलबाट प्रभावशाली नेता उम्मेदवार बनेपछि जोश र उत्साहका साथ चुनावी अभियानमा जुट्ने तयारीमा छन् ।
माघ १० गतेको भेलामा पार्टी तथा भातृ संस्थाका ८४ वटै वडादेखि प्रदेश र केन्द्रीय तहसम्मका सबै नेता–कार्यकर्तालाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको कांग्रेस बैतडीका जिल्ला सचिव प्रेमबहादुर चन्दले जानकारी दिनुभयो ।










