बैतडी, माघ ६ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा १० राजनीतिक दल र २ स्वतन्त्र गरी कुल १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार निर्वाचन आयोगले तोकेको समयसीमाभित्र मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो। उम्मेदवारी दर्ता गराउनेमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुपेनबहादुर चन्द, नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला, नेकपा (एमाले)बाट दामोदर भण्डारी, श्रम संस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेय तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट रामबहादुर कुँवर रहेका छन्।
यसैगरी नेपाली कांग्रेसबाट चतुरबहादुर चन्द, आम जनता पार्टीबाट विशन सिंह बोहरा, नेपाली कम्युनिष्ट पार्टीबाट परमनन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारी र जनता समाजवादी पार्टीबाट आन सिंह भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस परित्याग गरेका तेजबहादुर चन्द र जयप्रकाश पन्तले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका चतुरबहादुर चन्दले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वयं उपस्थित भई उम्मेदवारी दर्ता गराउनुभएको हो। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षसमेत रहनुभएका चन्द शिक्षण पेसाबाट राजनीतिमा प्रवेश गर्नुभएको हो भने लामो समयसम्म विभिन्न संघ–संस्थामा सक्रिय रहँदै आउनुभएको छ।
एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बैतडीमा नेपाली कांग्रेसले वि.सं. २०७४ सालपछि प्रत्यक्ष रूपमा टिकट पाएको हो। यसअघि गठबन्धनका कारण माओवादी केन्द्रले टिकट पाएको थियो। यसपटक कांग्रेसले उम्मेदवार पाएपछि पार्टीका नेता तथा कार्यकर्ता उत्साहित भएका छन्।
मनोनयनपछि सञ्चारकर्मीसँग कुरा गर्दै चन्दले बैतडीका जनताको सेवा र स्वाभिमानका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जनताको अनुमोदन प्राप्त भएमा जिल्लाको समग्र विकासका लागि इमानदारीपूर्वक काम गर्ने बताउनुभयो।
अन्य उम्मेदवारहरूले स्वयं उपस्थित भई मनोनयन दर्ता गराए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारीले भने पार्टीका जिल्ला सभापतिमार्फत वारेसनामा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत भट्टले जानकारी दिनुभयो।








