बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यसहित जिल्ला अदालत बैतडीमा कार्यालय सञ्चालनमा ल्याइएको हो।
एक निर्वाचन क्षेत्र रहेको बैतडीमा निर्वाचनसम्बन्धी प्रशासनिक कामलाई प्रभावकारी बनाउन कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत तिर्थराज भट्टले जानकारी दिनुभयो। कार्यालय सञ्चालनमा आएसँगै मतदाता नामावली अद्यावधिक, निर्वाचन आचारसंहिता कार्यान्वयन, सुरक्षा व्यवस्थापन तथा राजनीतिक दलहरूसँग आवश्यक समन्वयका कामहरू सुरु भएका छन्।
कार्यालय स्थापना कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख, निर्वाचन कार्यालयका कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आशन्न निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासन र सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताउनुभयो।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा १ सय २९ मतदानस्थल र २ सय १४ मतदान केन्द्र कायम गरिएका छन्।





