back to top
Home मुख्य समाचार महिनौँदेखि पालिका हाकिमबिहीन, मन्त्रालय धाउँदै अध्यक्ष, सेवाग्राही मारमा

महिनौँदेखि पालिका हाकिमबिहीन, मन्त्रालय धाउँदै अध्यक्ष, सेवाग्राही मारमा

0
139

केशवराज भट्ट, बैतडी, पुस ३० गते। बैतडीको सुर्नया गाउँपालिका पछिल्लो दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा गाउँपालिकाका आर्थिक तथा प्रशासनिक कामकाज ठप्प भएका छन्।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवाग्राहीहरू प्रत्यक्ष मारमा परेका छन् भने समस्या समाधानका लागि गाउँपालिका अध्यक्ष मन्त्रालय धावन बाध्य भएका छन्।

सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुक गत कार्तिक २५ गते निर्वाचन आयोगमा सरुवा भएपछि उक्त पद हालसम्म रिक्त छ।

यसबीच, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत पौष ६ गते शाखा अधिकृत खगेन्द्र भारतीलाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरे पनि उहाँ गाउँपालिकामा हाजिर हुन नपाउँदै जिल्ला निर्वाचन कार्यालय बैतडीमा सरुवा हुनुभएको छ।
हाल भारती जिल्ला निर्वाचन कार्यालयमै कार्यरत रहेका छन्।

प्रमुख प्रशासकीय अधिकृतको अभावमा योजना कार्यान्वयन, भुक्तानी प्रक्रिया तथा प्रशासनिक निर्णयहरू प्रभावित बनेका छन्।

पालिकामा आर्थिक कारोबार ठप्प हुँदा कर्मचारी तलबभत्ता, सामाजिक सुरक्षा भत्ता वितरणलगायतका गतिविधिसमेत प्रभावित भएका छन्।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको समग्र कामकाज रोकिएको छ। मन्त्रालयमा पटक–पटक आग्रह गर्दा पनि समस्या समाधान हुन नसकेको पालिका अध्यक्ष अमर कुँवरले बताउनुभयो ।

कुवरका अनुसार आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू भएपछि फागुन २१ गतेसम्म सरुवा गर्न नमिल्ने अवस्था आएमा समस्या झनै जटिल बन्ने देखिएको छ।

यसअघि सुर्नया गाउँपालिकामा विभिन्न माग राख्दै जेनजी समूहको अगुवाइमा ३९ दिनसम्म तालाबन्दी गरिएको थियो। माग सम्बोधन गर्ने सहमतिपछि तालाबन्दी खोलिए पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा सहमतिअनुसारका कतिपय काम अघि बढ्न सकेका छैनन्।

निर्वाचन नजिकिँदै गएको अवस्थामा पनि पालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुँदा स्थानीय तहको सेवा प्रवाह प्रभावित बनेको छ। सेवाग्राहीहरू सामान्य प्रशासनिक सेवाका लागि समेत लामो समय कुर्न बाध्य छन्।

स्थानीय सरकार सञ्चालनका लागि अत्यावश्यक पद रिक्त रहँदा पनि कर्मचारी व्यवस्थापन गर्न नसकेको भन्दै स्थानीय नागरिकहरू असन्तुष्ट देखिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here