केशव राज भट्ट, वाशुलिङ्ग/ बैतडी । पुस २७ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा करिब १४ सय निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।
जिल्लामा एक हजार तीन सय ७५ जना निर्वाचन प्रहरी भर्ना गरिने जानकारी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलदेब बडुले दिनुभयो।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको संयुक्त कार्यविधि–२०८२ अनुसार निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दरखास्त आह्वान गरिएको उहाँले बताउनुभयो।
निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुक उम्मेदवारले माघ १ गतेसम्म निवेदन दिन सक्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो।
दरखास्त जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलको गुल्ममा दिन सकिने जनाइएको छ।
दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिक उम्मेदवार हुन सक्नेछन्।
उम्मेदवार सामान्य लेखपढ गर्न जान्ने, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ तथा आतङ्ककारी वा विध्वंसात्मक सङ्गठनसँग सम्बन्ध नरहेको हुनुपर्ने शर्त तोकिएको छ।
शारीरिक मापदण्डतर्फ पुरुषको न्यूनतम उचाइ पाँच फिट तीन इन्च, छाती ३१–३३ इन्च र तौल ५० केजी तथा महिलाको हकमा न्यूनतम उचाइ पाँच फिट र तौल ४२ केजी तोकिएको छ।
महिलाको हकमा गर्भवती नभएको वा गर्भावस्था समाप्त भइसकेको हुनुपर्ने उल्लेख गरिएको छ।
सम्पर्क मिति माघ ४ गते तोकिएको छ भने माघ ५ देखि ९ गतेसम्म उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गरिने जनाइएको छ। छनोट भई नियुक्ति पाएका निर्वाचन प्रहरीको कार्यावधि ४० दिन रहनेछ।














