बैतडी । भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीले पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच कार्य शुरु गरेको छ।
गाउँपालिकाले प्रमाणीकरण गरेका परिवारहरूको जग्गा एकीन प्रक्रिया पूरा भएपछि नापजाँच अघि बढाइएको आयोगका जिल्ला अध्यक्ष रमेशदत्त पाण्डेयले जानकारी दिनुभयाे। पञ्चेश्वर गाउँपालिकाको वडा नं. १, ३ र ४ मा प्रमाणीकरण सकिएकाले पहिलो चरणमा वडा नं. १ बाट नापजाँच शुरु गरिएको हो। बिहीबार गाउँ कार्यपालिकाले लिखित पत्राचार गरेपछि शुक्रबारदेखि नापजाँच कार्य औपचारिक रूपमा सुरु भएको हो।
वडा नं. १ मा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्द, उपाध्यक्ष बिना भट्ट, आयोगका विज्ञ सदस्य जगदीश नायक, भूमि अधिकारकर्मी नरीराम लुहारलगायतको उपस्थिति रहेको थियो। नापजाँचका लागि एक जना सर्वेक्षक र चार जना अमीनसहित पाँच सदस्यीय प्राविधिक टोली खटाइएको छ। गाउँपालिकाभित्र ५ सय ४१ परिवार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ।
नापजाँचपछि फिल्ड बुक र श्रेष्ता तयार गरी सम्बन्धित परिवारलाई लालपूर्जा वितरण गरिने आयोगले जनाएको छ।






