बैतडी ।बैतडीको पाटनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला भेला सम्पन्न भएको छ।
केन्द्रीय नेताहरूको उपस्थितिमा आज सम्पन्न भेलाले पार्टी संगठन विस्तार र आगामी राजनीतिक यात्रालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशी (क्वालिटी)का अनुसार पार्टी एकता पश्चात् राष्ट्रिय राजनीति र पार्टीका नीति, सिद्धान्त तथा कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले भेलाको आयोजना गरिएको हो।
भेलामा पार्टीप्रति जनआकर्षण बढ्दै गएको संकेतका रूपमा ३ सय भन्दा बढी व्यक्तिहरू रास्वपामा प्रवेश गरेका छन्।
भेलालाई केन्द्रीय नेताहरू दिपक बोहरा, रमेश प्रसाइँ, प्रमोद न्यौपाने, राजीव खत्री लगायतले सम्बोधन गरेका थिए।
उनीहरूले देशमा विद्यमान राजनीतिक, आर्थिक र सामाजिक समस्याहरूको समाधान गर्न परम्परागत राजनीतिले असफल भएको उल्लेख गर्दै रास्वपाले मात्रै देशलाई सही निकासतर्फ लैजान सक्ने दाबी गरे।
कार्यक्रममा हरिमोहन भण्डारी, नेपाली कांग्रेसका पूर्व पाटन नगर सभापति मानबहादुर ऐर, जेन–जी अगुवा विशाला भट्ट लगायत विभिन्न राजनीतिक दल र पृष्ठभूमिबाट आएका व्यक्तिहरूले रास्वपामा प्रवेश गरेका थिए। नवप्रवेशीहरूलाई पार्टीले औपचारिक रूपमा स्वागत गरेको थियो।
रास्वपा बैतडीका सभापति भीम नाथको अध्यक्षतामा सम्पन्न भेलाले पार्टी संगठनलाई स्थानीय तहसम्म सुदृढ बनाउँदै लैजाने र वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्ने निष्कर्ष निकालेको छ।














