केशव भट्ट, बैतडीको सुर्नया गाउँपालिका–३ तडीगाउँस्थित बासुदेव आधारभूत विद्यालयले ७६औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भानदेव भट्टको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरको प्रमुख आतिथ्यतामा शुक्रबार वार्षिकोत्सव आयोजना गरिएको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिरदेव भट्टले आर्थिक, भौतिक र शैक्षिक प्रगतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
वार्षिकोत्सवका अवसरमा शैक्षिक उपलब्धिका आधारमा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ। काठमाडौंको कीर्तिपुरमा सञ्चालित दिया एजुकेशन सेन्टरका सञ्चालक तथा कोरियन भाषा प्रशिक्षक विवेक भट्टको सहयोगमा विद्यालय प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो।
यस्तै, सुर्नया गाउँपालिका–२ लिस्किटा घर भएका शिक्षा प्रेमी भानबहादुर चन्दद्वारा स्थापना गरिएको ‘विश्वास स्मृति अक्षयकोष’बाट विद्यालय प्रथम, दलित विद्यार्थी तथा छात्रा प्रथमलाई पनि पुरस्कार प्रदान गरिएको थियो।
साँस्कृतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रममा वडा नं. ३ का अध्यक्ष शम्भुप्रसाद भट्ट, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक तथा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो।










