बैतडी ।घरवारविहीन बैतडीको सुर्नया गाउँपालिका–४ कौलाडीकी २६ वर्षीया जानकी महरालाई विभिन्न व्यक्तिहरूबाट सङ्कलित २ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
पत्रकार तथा सहयोग सङ्कलन अभियानका अभियन्ता सुरेश महराका अनुसार मंगलबार उक्त रकम जानकीलाई हस्तान्तरण गरिएको हो। जानकीका श्रीमान् नरेश महराको गत मंसिर १८ गते मिनिट्रक दुर्घटनामा निधन भएपछि उनी घरसमेत नभई बालबच्चासहित बिचल्लीमा परेकी थिइन्।
श्रीमान्को निधनपछि किरियाकाे समयमा समेत छिमेकीको घरमा बस्नुपरेको अवस्थामा सहयोग अभियान सञ्चालन गरिएको थियो।
जानकीको बैंक खाता नहुँदा पत्रकार महराको पहलमा रकम सङ्कलन गरिएको बताइएको छ। सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई धन्यवाद ज्ञापन गरिएको छ।
यसैबीच, काठमाडौँस्थित किरण नमस्ते नेपाल संस्था र ग्रेस एकेडेमी स्कुलले जानकीका बालबालिकाको पठनपाठनको व्यवस्था गरेका छन्। कञ्चनपुरस्थित साथी संस्थाको सहयोगमा जानकी तीन सन्तानसहित काठमाडौँ जाने तयारीमा रहेको जनाइएको छ।












