केशव भट्ट, बैतडी पुस २ गते । बैतडीको शिवनाथ गाउँपालिकाले केन्द्रबाट जारी निर्देशनअनुसार स्थाई र अस्थाई / करार शिक्षक तथा प्राबिधिक तर्फका सहायक शिक्षकलाई उपलब्ध गराउनुपर्ने स्थानीय भत्ता निकासा गर्न आवश्यक थप बजेट उपलब्ध गराइदिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग औपचारिक अनुरोध गरेको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्रकाशित कार्यक्रम कार्यान्वयन कार्यविधि अनुसार स्वीकृत दरबन्दीमा कार्यरत स्थायी, अस्थायी/करार तथा प्राविधिक धारका शिक्षक तथा सहायक शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराउने व्यवस्था गरिने भनिएको छ। कार्यविधिअनुसार जिल्ला बसाइका आधारमा शिक्षकलाई वार्षिक १०.५ महिनासम्म स्थानीय भत्ता प्रदान गरिने व्यवस्था रहेको छ।
नेपाल सरकार, अर्थ मन्त्रालयको मिति २०७९ श्रावण १ गतेदेखि लागू हुने निर्णयअनुसार स्थानीय तहलाई वर्गीकरण गरी स्थानीय भत्ता व्यवस्था गरिएको हो। सोही निर्णयअनुसार शिवनाथ गाउँपालिका ‘ग’ वर्गमा सूचीकृत भई स्थानीय भत्ता पाउने स्थानीय तहमा पर्दछ।
गत आर्थिक वर्षमा शिक्षकको स्थानीय भत्ता भुक्तानी हुन नसकेको र चालु आर्थिक वर्षमा शिक्षकहरूले स्थानीय भत्ताको दाबी पेस गरेपछि केन्द्रबाट शिक्षक तलब–भत्ता शीर्षकअन्तर्गत विनियोजित बजेट अपुग हुने अवस्था देखिएको गाउँपालिका अध्यक्ष कर्ण सिंह साउदले जानकारी दिनुभयो ।
केन्द्रको निर्देशन बमोजिम पालिकाले स्थानीय भत्ता भुक्तानीका लागि आवश्यक विवरण संकलन गरी माग पेश गरेको छ। विवरणअनुसार आधारभूत तहका शिक्षकका लागि २६ लाख ५५ हजार ४३० रुपैयाँ र माध्यमिक तहका शिक्षकका लागि ११ लाख ३२ हजार ९९० रुपैयाँ गरी कुल ३७ लाख ८८ हजार ४२० रुपैयाँ बराबरको रकम थप आवश्यक देखिएको गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नरेन्द्र महताले जानकारी दिनुभयो ।
पालिकाले केन्द्रबाट आवश्यक थप बजेट उपलब्ध भएलगत्तै शिक्षकको स्थानीय भत्ता नियमानुसार निकासा गरिने वहाँले जानकारी दिनुभयो । केन्द्रको कार्यविधि कार्यान्वयन गर्दै शिक्षकको हक–हित सुनिश्चित गर्नु तथा शिक्षण–सिकाइलाई प्रभावकारी बनाउनु नै पालिकाको उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ।










