केशवर भट्ट,बैतडी मङ्सिर २८ गते ।
सवारी दुर्घटना श्रीमान गुमाएपछि घरबारसमेत विहीन बनेकी बैतडीको सुर्नया गाउँपालिका–४ की जानकी महरालाई प्रशासन, स्थानीय सरकार र समाजसेवी संस्थाको संयुक्त पहलमा राहत सहयोग प्रदान गरिएको छ।
आइतबार बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको नेतृत्वमा शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थी, प्रहरी नायब उपरीक्षक दीपककुमार राय, सशस्त्र प्रहरी नायब उपरीक्षक जंगबहादुर कुँवर, सुर्नया गाउँपालिका प्रवक्ता तथा वडा नं. ४ का वडा अध्यक्ष प्रताप महरा, सामाजिक विकास कार्यालय प्रमुख शंकरदत्त जोशी तथा कपडा बैंकका सञ्चालक एवं तरुण दलका नेता महेश भट्ट सहभागी संयुक्त टोलीले पीडित परिवारसँग भेटघाट गरी खाद्यान्न तथा लत्ताकपडा सहयोग उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
मङ्सिर १८ गते राति सुर्नया गाउँपालिका–५ कठेगौडामा भएको मिनी ट्रक दुर्घटनामा २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएपछि उनकी पत्नी जानकी महरा छिमेकीको घरमा किरिया बस्न बाध्य भएकी छन्।
मृतक नरेश महराले यसअघि नै घरजग्गालगायत सम्पत्ति बिक्री गरिसकेका कारण जानकीसँग बसोबास गर्ने घरसमेत नरहेको आफन्त नरेश महराले जानकारी दिनुभयो । यसका कारण एकल महिला बनेकी जानकी र उनका तीन सन्तानको दैनिकी झनै कष्टकर बनेको वहाँले बताउनुभयो ।
जानकीले आफू विगतदेखि नै घरेलु हिंसाको सिकार हुँदै आएको बताउँदै श्रीमानको कुटपिटका कारण घर छोड्नुपरेको र तीन सन्तानसहित सेफ हाउसमा बस्नुपरेको पीडा सुनाउनभयो।
राहत वितरण कार्यक्रममा सहभागी गाउँपालिका प्रवक्ता तथा वडा अध्यक्ष प्रताप महराले दुःखको यस घडीमा पीडित परिवारलाई सहयोग गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै स्थानीय तहबाट सम्भव हुने सबै प्रकारका सहयोगका लागि गाउँपालिका तत्पर रहेको बताउनभयो।
घटनापछि बिचल्लीमा परेकी जानकीलाई दीर्घकालीन पुनर्स्थापना र सुरक्षित आवास तथा जीविकोपार्जनका लागि समस्या परेको छ।





