२२, मङ्सिर । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण आजदेखि धनगढीमा सुरु भएको छ। प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापार र कला–संस्कृतिको प्रवर्द्धन उद्देश्यसहित मंसिर २२ देखि पुस २ गतेसम्म महोत्सव संचालन हुनेछ।
आज बिहान ११ बजे धनगढी चौराहादेखि महोत्सव स्थलसम्म झाँकीसहित र्याली निकालिएको छ। दिउँसो २ बजे अर्थमन्त्री रामेश्वरप्रसाद खनाले महोत्सवको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक संघले जानकारी दिए।
करिब तीन करोडको लगानीमा आयोजना गरिएको महोत्सवबाट १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको अध्यक्ष पुस्करराज ओझाले जानकारी दिए। महोत्सव अवधिमा करिब सात लाख दर्शक जुट्ने अपेक्षा गरिएको उनले बताए ।
महोत्सवमा कृषि तथा जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, इलेक्ट्रोनिक्स, होटल–पर्यटन र सूचना प्रविधिसहित ५०० भन्दा बढी स्टल राखिएका छन्। स्थानीय किसान, उद्यमी र व्यवसायीलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ।
प्रदेशको आर्थिक सक्रियता, बजार विस्तार र सांस्कृतिक पहिचान स्थापित गर्न मद्दत पुग्ने विश्वास आयोजकहरूको छ।










