बैतडी जिल्लामा एचआइभी संक्रमितको संख्या १ सय ३६ पुगेको छ। विश्व एड्स दिवसको अवसरमा स्वास्थ्य कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरिएको हो।
स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत खगेन्द्र कार्कीका अनुसार ७४ महिला र ६२ पुरुष एचआइभी संक्रमित छन्। उनीमध्ये अधिकांशले नियमित एआरटी औषधि सेवन गरिरहेका छन्। भेदभाव र कलंकका कारण संक्रमितहरू अझै पनि खुलेर बाहिर आउन नसकेको वहाँले बताउनुभयो ।
जिल्लामा सबैभन्दा धेरै दशरथचन्द नगरपालिकामा २८ जना संक्रमित रहेका छन्। पाटन नगरपालिकामा २५, दोगडाकेदारमा १८, मेलौलीमा १६, पञ्चेश्वरमा १४, डिलाशैनी र सुर्नयामा १०–१०, शिवनाथमा ६ तथा पुर्चौंडी र सिगासमा ४–४ जना संक्रमित रहेको खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो । यस्तै, बैतडीका २१ जना संक्रमित जिल्लाबाहिर दर्ता भएका वहाँले बताउनुभयो ।
संक्रमितमाथि दुव्र्यवहार र कमजोर बुझाइका कारण उनीहरू उपचार र सहयोगको दायरामा सहज रूपमा आउन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले बताउनभयो। अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले स्थानीय तहले विशेष कार्यक्रममार्फत संक्रमितलाई उपचार र पुनर्स्थापनामा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।
‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नारासहित ३८औँ विश्व एड्स दिवस बैतडीमा पनि मनाएको थियो।










