केशवराज भट्ट वाशुलिङ्(बैतडी) मङ्सिर १गते ।बैतडीको सुर्नया ३ र २को सिमानामा पर्ने शताब्दीयौँ पुरानो मानिने वाशुलिङ्ग शक्तिपीठमा आज सोमबार बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको थियो।
संकट र कष्टक्लेशका बेला यहाँ दर्शन गरेमात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मन्दिर परिसर भरिभराउ बनेको देख्न सकिन्थो ।
कोणधारी जङ्गलको बीचमा शान्त वातावरणमा अवस्थित यो शिवरूपि देवस्थलमा पूजाको समयमा बिहानैदेखि मन्दिरका पुजारी, धामी,भण्डारे, गाउँ- गाउँ बाट आएका दलित तथा गैरदलित लगायतका भक्तजनहरुको पूजा आराधनाले समय समयमा मन्दिर परिसर गुञ्जायमान बन्नेगरेको छ।
आज (सोमबारदिन)बिहानको चिसो हावासँगै धुप दीपधूवाको सुगन्धले मन्दिरपरिसरमा आध्यात्मिक ऊर्जाको अनुभूति भएको सुर्नया ४का भक्तजन रण बहादुर चन्देले बताउनुभयो ।
वाशुलिङ्ग शक्तिपीठलाई “संकटमा साथ दिने देवताको थलो” का रूपमा मानिन्छ र वास्तविक पीडामा परेकाले यहाँ दर्शन तथा पूजाअर्चना गरे मनोकामना पूरा हुने विश्वास पुस्तौँदेखि रहेको मन्दिरका पुजारी धर्मानन्द भट्टले बताउनुभयो ।
यो मन्दिर शताब्दीयौँ पूरानो मानिन्छ।योमन्दिर करिब २सय बर्षअगाडी कोपिढुङ्गा (माटोमिश्रीत) चादि र तामाले छाएको सानो आकारको छ। यहाँ बसोबास गर्ने सबै जातजातिका मानिसहरुलाई परम्परागत नियम अनुसार काम, कर्तव्य र अधिकारको बाडफाड गरिएको छ।

मन्दिर नजिकै मसानघाट पनि रहेको यदि मसानमा कोहि (मुर्धा)प्रेत आयो भने यसमन्दिरमा १३दिन सम्म पूजाआजा सम्बन्धि कुनै पनि गतिविधि नहुने पुरानो परम्परा अझै आजसम्म पनि जिवित रहेको मन्दिरका धामि पदमराज भट्टले बताउनुभयो ।

यो मन्दिरमा सुतक अथवा (जुठो) नपरेको अवस्थामा पर्व–विशेषमा मात्र नभएर सामान्य दिनमै पनि यहाँ दर्शनार्थीको आवागमन भइराख्ने गर्दछ। तर पूजापाठको समयमा भने झनै बाक्लो भिड हुने गरेको स्थानीय पण्डित राधेश्याम भट्टले बताउनुभयो ।
मन्दिरका भण्डारे महेश दत्त भट्ट,भन्नुहुन्छ,यो केवल मन्दिर मात्र नभएर समुदायलाई एक ठाउँमा जोड्ने सांस्कृतिक थलो पनि हो। यहाँ आउनेहरू मनमा शान्ति, भरोसा र नयाँ शक्ति लिएर फर्कन्छन्।
मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्व संरक्षणका लागि सुर्नया गाउँपालिकाका बासिन्दा, युवा समुह र मन्दिर व्यबस्थापन समितिले पछिल्लो समय विभिन्न विकास निर्माणदेखि, आन्तरिक सरसफाइ जस्ता कार्यहरु गर्दै आएका छन्।
बैतडीकै धार्मिक तथा ऐतिहासिक पहिचान बोकेको यो शक्तिपीठ आज पनि श्रद्धा र विश्वासको केन्द्रबिन्दु मानिएको छ।

वाशुलिङ्ग शक्तिपीठ प्राकृतिक सौन्दर्यले घेरिएको भएकाले पनि पर्यटकिय सम्भावनाका दृष्टिले महत्त्वपूर्ण गन्तव्यका रूपमा समेत हेरिएको छ।












