केशव भट्ट,बैतडी । सुर्नया गाउँपालिकाका करार कर्मचारीहरूले आफ्नो माग सम्बोधनका लागि संघर्ष समिति गठन गरेका छन्। लामो समयदेखि उठ्दै आएको असन्तुष्टि पछि बुधबार बसेको भेलाले १५ सदस्यीय समिति गठन गरेको हो।
समितिको संयोजकमा सुरेन्द्रसिंह धामी चयन भएका छन्। सह–संयोजकमा गजेन्द्रबहादुर मडै, सचिवमा शरदप्रसाद पन्त, सह–सचिवमा नरेन्द्रसिंह बिष्ट, कोषाध्यक्षमा घुम्रा भाट र सह–कोषाध्यक्षमा हरिसिंह महरा छन्।
यस्तै, दलबहादुर बिष्टको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। समितिमा लोकबहादुर बिष्ट र खेमराज अवस्थी सदस्य रहेका छन्।
भेलाले गाउँपालिकामा एक महिनाभन्दा बढी समयदेखि जारी तालाबन्दीप्रति गम्भीर चासो व्यक्त गरेको छ। तालाबन्दीका कारण स्थानीय सेवाग्राही समस्या भोगिरहेका र सेवा ठप्प भएको भन्दै समितिले तत्काल समाधानका लागि पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ।
संघर्ष समितिका संयोजक धामीका अनुसार, शुक्रबार गाउँकार्यपालिका, कर्मचारी र तालाबन्दी गर्ने पक्षबीच त्रिपक्षीय वार्ता गर्ने तयारी भइरहेको छ। उनका भनाइमा, वार्तामार्फत समस्या समाधान गर्न सकिने विश्वास समितिले लिएको छ।
स्थानीयहरूका अनुसार, तालाबन्दीका कारण विद्यालयदेखि स्वास्थ्य चौकीसम्मका सेवा प्रभावित भएका छन्। नियमित कामकाज रोकिँदा जनसाधारण मारमा परेका छन्।
विभिन्न मागहरू राख्दै गत असोज २४ गते गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए।








