केशव भट्ट, बैतडी । लामो समयदेखि बालविवाह न्यूनीकरणको क्षेत्रमा सक्रिय रहेको परोपकार ग्रामीण विकास संघले बालविवाह अन्त्यका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ।
गल्स फस्ट फण्डको सहयोगमा ‘किशोरकिशोरी क्षमता अभिवृद्धि तथा बालविवाह न्यूनीकरण’ कार्यक्रम अन्तर्गत पाटन नगरपालिकाका वडा नं. २ र ६ मा रुपान्तरण कक्षा, अन्तरपुस्ता संवाद, धार्मिक अगुवासँग अन्तरक्रिया तथा लागूऔषध दुव्र्यसनविरुद्धका गतिविधि सञ्चालन गरिने संघकी कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन्।
संघले आयोजना गरेको समन्वयात्मक बैठकमा इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक इन्द्रराज भट्टले बालविवाह नियन्त्रणमा यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। यस्तै सिद्धनाथ मावि सिलङ्गाका प्रधानाध्यापक लक्ष्मण बोहराले कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
यस्तै नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले परोपकार ग्रामीण विकास संघले लामो समयदेखि कार्यक्रम सञ्चालन गरिरहेकाले यसमा नगरपालिकाले गर्नुपर्ने आवश्यक सहकार्य रहने बताए ।
पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले परोपकार ग्रामीण विकास संघले किशोरकिशोरीको क्षमता अभिवृद्धि र सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा पनि नगरपालिकाकोतर्फबाट निरन्तर सहकार्य रहने बताए ।








