केशव भट्ट,बैतडी । बैतडी जिल्लाको सुर्नया गाउँपालिका२ र ३को संगम स्थलमा अवस्थित प्रसिद्ध वाशुलिङ्ग मन्दिरमा बुधबार नित्यपूजा सम्पन्न भएको छ। हरेक वर्ष भक्तजनहरू पूजाअर्चनाका लागि सहभागी हुने यो स्थल घना कोणधारी जंगलको बिचमा अवस्थित छ। यो मन्दिर शक्तिशाली शिवधामका रूपमा परिचित छ ।
स्थानीय मान्यताअनुसार, यो मन्दिर अत्यन्तै पुरानो र चमत्कारीक स्थल हो । यहाँ स्थापित भगवान् वाशुलिङ्गेश्वर शिवलाई ‘जाग्रत रूपका महादेव’ भनेर श्रद्धापूर्वक पूजा गर्ने चलन छ । भक्तजनहरूले यहाँको दर्शन गर्नाले मनोकामना पूरा हुने र दुःख–कष्ट हट्ने विश्वास गरिन्छ ।
प्रतेक बर्ष गरिने नियमित पूजाको समयमा विशेषगरि यहाँ सयौं दर्शनार्थीहरूको भीड लाग्ने गर्छ । बिहानैदेखि साँझसम्म ढोल–नगारा, स्थानीय बाजागाजा सहित शंखध्वनि र हरहर महादेवको गुञ्जनले सम्पूर्ण जंगल क्षेत्रनै गुन्जायमान हुने गर्दछ।
मन्दिरका पूजारी धर्मान्द भट्टका अनुसार, मन्दिर प्राकृतिक ढुङ्गाको संरचनामाथि स्थापित छ, जसलाई भगवान् शिवको प्रतीक लिङ्गका रूपमा पुज्ने पूरानो चलनकायमै रहेको छ। यहाँको माटो र वातावरणलाई पनि पवित्र मानिने वहाँले भनाइ छ।
धार्मिक विश्वाससँगै वाशुलिङ्ग मन्दिरमा सांस्कृतिक र प्राकृतिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । कोणधारी वनले घेरेको पवित्र स्थललाई भक्तजनका आस्था र साधनाको तीर्थस्थल मानिन्छ ।
मन्दिरमा हुने सामूहिक पूजा, भजन–कीर्तनले यहाँको परम्परा र आस्थाको गहिरो सम्बन्ध झल्काउँछ । स्थानीय समाजले मन्दिर संरक्षण र व्यवस्थापनका लागि समितिमार्फत नियमित सरसफाइ जस्ता कार्यक्रम गर्दै आएको छ।
‘वाशुलिङ्ग मन्दिर यस क्षेत्रकै आस्थाको मूल केन्द्र समेत रहेको स्थानीय लाल बहादुर पाण्डेले बताउनुभयो । ‘यहाँ पुग्दा मनमा अद्भुत शान्ति र आत्मिक बल मिल्ने अर्का स्थानीय लाल बहादुर बिष्टले भन्नुभयो ।’
वाशुलिङ्ग मन्दिरको धार्मिक महिमा, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यले सुर्नया मात्र होइन, समग्र बैतडी जिल्लाको पहिचानका रूपमा स्थापित भइएको स्थानिय जेष्टनागरिक शेरसिंह एरीले जानकारि दिनुभयो ।










