केशव भट्ट, बैतडी — सुर्नया गाउँपालिका–५ मा अवस्थित ऐतिहासिक फाल्ङाशैनी भगवती मन्दिरमा यस वर्षको भवानी जात्रा कार्तिक १८ र १९ गते भव्य रूपमा मनाइने भएको छ।
हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाको अवसरमा लाग्ने यस जात्राको तयारी तीव्र गतिमा भइरहेको मन्दिरका पूजारी विष्णुदत्त भट्टले जानकारी दिए। उनका अनुसार दशैंको नवरात्रमा पनि यहाँ भगवतीको विशेष पूजाआराधना र जात्राको आयोजना हुने परम्परा छ।
फाल्ङाशैनी मन्दिरमा चतुर्दशीका दिन राँगा बाँध्ने र पूर्णिमाका दिन बलि दिने परम्परा आज पनि जस्तै त्यसै रूपमा कायम छ। स्थानीय तथा बाह्य क्षेत्रका भक्तजनहरूले देवीको दर्शनका लागि हरेक वर्ष ठूलो संख्यामा मन्दिर पुग्ने गरेका छन्।
पूजारी भट्टका अनुसार पहिले भक्तजन निङ्गलाशैनी भगवतीको दर्शनका लागि पुग्ने गरे पनि सुर्नयाको रौलेश्वर क्षेत्रमा भगवतीको उत्पत्तिसँगै पूजाआराधनाको केन्द्र यतैतिर सरेको मान्यता रहेको छ।
भवानी जात्राले स्थानीय व्यापार र उत्पादनलाई समेत जीवन्त बनाउने गरेको छ। जात्राको अवसरमा प्याजको बेर्नादेखि कृषि उपज, परम्परागत भाँडाकुडा र घरेलु वस्तुको बिक्री हुने भएकाले यहाँको बजार समेत चहलपहलमय बन्ने गर्दछ।










