केशव भट्ट, बैतडी, कार्तिक ११ गते । बैतडी जिल्लाको प्रसिद्ध धार्मिक स्थल शिवनाथ धाममा आजदेखि वार्षिक जात्रा सुरु भएको छ। हरेक वर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन मनाइने यस जात्राले धार्मिक आस्था र सांस्कृतिक परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
स्थानीय परम्पराअनुसार सप्तमीको दिन लाग्ने जात्रालाई ‘रतेडी’ र अष्टमीको दिन लाग्ने जात्रालाई ‘दिउसेडी’ भनिने चलन रहिआएको छ। आज साँझ शिवनाथ गाउँपालिकाका विभिन्न स्थानबाट आएका देउरो र बाजागाजासहितका भक्तजनले मन्दिरमा पूजाआजा आरम्भ गरेका छन्।
शिवनाथ गाउँपालिका–६ बसेडीभ्वाँस्थित भण्डारघरबाट कार्तिक शुक्ल षष्ठीका दिन मन्दिरमा भण्डार तथा विशेष प्रकारको घण्ट (पेलीघाँट) ल्याउने परम्परा रहिआएको स्थानीय संस्कृतिका जानकार एवं शिक्षक देवदत्त कलौनीले बताए।
जात्राको प्रमुख आकर्षण छालाको गीर (भकुण्डो) खेल्ने धार्मिक परम्परा हो। दशैंका अवसरमा उदयदेव मन्दिरमा बलि दिइएको राँगाको छालाबाट तयार पारिने उक्त गीरलाई बाजागाजासहित आज मन्दिरमा पु¥याइने र भोलि खेल्ने चलन रहेको छ। विशेषगरी धनाडी र साउँद समुदायका भक्तजनले यो परम्परा निभाउने गर्दछन्।
शिवनाथ मन्दिरको अगाडिको मैदानमा गीर खेल्ने परम्परा रहिआएको छ। यसअघि उक्त स्थानमा तलाउ रहेको र त्यहीँ खेलिने चलन भए पनि अहिले तलाउ सुकिसकेको स्थानीयहरुले बताएका छन्।
शिवनाथ धामको जात्रामा नेपालका विभिन्न स्थानका साथै सीमावर्ती भारतबाट समेत दर्शनार्थीहरू आउने गरेका छन्। जात्राको अवसरमा देउडा खेल, सामूहिक पूजा र सांस्कृतिक कार्यक्रमले क्षेत्रलाई उल्लासमय बनाउँछ।
शिवनाथ धाममा दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ।
यसैबीच, शिवनाथ गाउँपालिकाले जात्राको अवसरमा आज र भोलि दुई दिन स्थानीय सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले बिदाका दिन सबै सरकारी, गैरसरकारी कार्यालय र शिक्षण संस्था बन्द रहने जनाएको छ।










