बैतडी — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीमा नयाँ मतदाता दर्ता गर्ने क्रम तीव्र बनेको छ । असोज ९ गतेदेखि सुरु भएको मतदाता नामावली अद्यावधिक कार्यमा हालसम्म ३ सय १ जनाले नाम दर्ता गराइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीका अनुसार मतदाता नामावलीमा नाम दर्ता गराउनेमा युवा उमेर समूहका नागरिकको संख्या उल्लेख्य छ । उनका भनाइमा, “नयाँ मतदाता दर्ता गर्न आउने मध्ये अधिकांश १८ देखि २५ वर्ष उमेर समूहका रहेका छन् ।”
जोशीका अनुसार आगामी कात्तिक २८ गतेसम्म नाम दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । उनले समयमै नाम दर्ता गर्न आग्रह गर्दै “मतदाता नामावलीमा समावेश हुन छुट नछोड्न” सबैलाई आह्वान गरे ।
जिल्ला निर्वाचन कार्यालयका तथ्याङ्कअनुसार बैतडीमा हालसम्म १८ वर्ष पूरा गरेका मतदाताको संख्या १ लाख ५४ हजार २१६ पुगेको छ । तीमध्ये महिला ७६ हजार ८३४, पुरुष ७७ हजार ३८० र अन्य दुई जना रहेका छन् ।
गएको प्रतिनिधि सभा निर्वाचन–२०७९ मा जिल्लामा एक लाख ५० हजार १५६ मतदाता रहेका थिए । सो निर्वाचनमा ५२ प्रतिशत अर्थात् ७८ हजार ३६९ मत खसेको थियो । निर्वाचन कार्यालयले अघिल्लो निर्वाचनको तुलनामा यसपटक मतदाता संख्या वृद्धि हुने अनुमान गरेको छ ।
एक मात्रै संघीय निर्वाचन क्षेत्र रहेको बैतडीमा दुई प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र, १० वटा स्थानीय तह र ८४ वडा रहेका छन् ।














