केशवराज भट्ट, बैतडी,असोज २८ गते । सशस्त्र प्रहरी बल नेपाल, मुख्यालय (हे.क्वा.) बैतडीको नेतृत्वमा घरेलु आगलागी नियन्त्रण तथा रोकथामसम्बन्धी व्यवहारिक अभ्यास गरिएको छ।
दशरथचन्द नगरपालिका–स्थित खुला स्थानमा गरिएको सो अभ्यासमा ग्यास सिलिन्डरमा आगो लागेको अवस्थामा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा व्यवहारिक प्रदर्शन गरिएको थियो।
अभ्यासका क्रममा आगलागीका कारण, प्राथमिक नियन्त्रणका उपाय, आवश्यक सावधानी तथा आकस्मिक अवस्थामा अपनाइने कदमबारे जानकारी दिइएको थियो।
सशस्त्र प्रहरीका अधिकारीहरूले आगलागीका घटनामा सुरक्षाकर्मीका साथसाथै स्थानीय तह, विद्यालय, र सर्वसाधारणको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।
वहाँहरूले यस्ता अभ्यासहरूले आगलागीका घटनामा तत्काल प्रतिक्रिया दिने क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउने बताउनभयो।
कार्यक्रममा बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद गौतम दसरथचन्द नगरपालिका नगरप्रमुख पुस्षकर राज जोशी लगायत बिभिन्न स्थानीय तहका प्रतिनिधि, शिक्षक, विद्यार्थी, सुरक्षा निकायका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
सशस्त्र प्रहरी बलले दैवी प्रकोप र आगलागीका सम्भावित जोखिम घटाउनका लागि यस्ता व्यवहारिक अभ्यासहरूलाई नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ।










