back to top
Home मुख्य समाचार बैतडीमा दशैं-तिहार शान्तिपूर्ण ढंगले मनाउन प्रशासनको आग्रह

बैतडीमा दशैं-तिहार शान्तिपूर्ण ढंगले मनाउन प्रशासनको आग्रह

0
88

बैतडी – जिल्ला प्रशासन कार्यालय बैतडीले आसन्न महान् चाड दशैं, शुभ दीपावली, छठलगायतका पर्वहरू शान्तिपूर्ण ढंगले मनाउन जिल्लावासीलाई आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले चाडपर्व हाम्रो संस्कृति, परम्परा, आपसी सद्भाव र एकताको प्रतीक भएकाले यसको मूल मर्मलाई आत्मसात गरी मर्यादित ढंगले मनाउन सबैमा अनुरोध गर्नुभएको छ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै चाडपर्वको समयमा अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी, मूल्यवृद्धि, तथा म्याद नाघेका वस्तु बिक्री वितरण नगर्न चेतावनी दिएको छ। त्यस्तै यात्रुवाहक सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु चढाउने, तोकिएको भन्दा बढी भाडा असुल्ने, ट्राफिक नियम विपरीत सञ्चालन गर्ने कार्य नगर्न सचेत गराइएको छ।

प्रशासनले सार्वजनिक स्थलमा भीडभाड, होहल्ला नगरी मर्यादित ढंगले पर्व मनाउन, आपराधिक गतिविधि तथा अनुशासनविपरीतका कार्य नगर्न, मदिरा र नशालु पदार्थको दुरुपयोग नगर्न पनि जिल्लावासीलाई अनुरोध गरेको छ।

यस्तै तिहारको अवसरमा खेलिने देउसी–भैलो जस्ता सांस्कृतिक कार्यक्रमहरू राति ९ बजेसम्म मात्र मर्यादित र सभ्य तरिकाले खेल्न सूचनामा उल्लेख गरिएको छ।

जिल्ला प्रशासनले पर्व लक्षित विशेष सुरक्षा योजना लागू गरी सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो। उहाँले चाडपर्वका अवसरमा सबै धर्म, जातजाति र समुदायबीच आपसी सद्भाव र एकता कायम राख्न आग्रह गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here