केशव भट्ट, बैतडी । बैतडीको सुर्नया गाउँपालिका–३ तडीगाउँ घर भई हाल रोजगारीका क्रममा युरोपमा रहेका गायक बिपी भट्टले आफ्नो नयाँ लोकदोहोरी गीत ‘पीडा पोख्दै छु’ सार्वजनिक गरेका छन्। गायक भट्टकै शब्द सिर्जना रहेको यस गीतमा गायिका सुनिता बुढा क्षेत्री र रुपेश न्यौपानेको स्वर रहेको छ।
माला श्री स्टुडियोमा रेकर्डिङ भएको गीतलाई विनोद बाजुरालीले एरेन्ज र खडक बाजुरालीले मिक्सिङ गरेका छन्। कलाकार सन्तोष शर्माको युट्युब च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको गीतको भिडियोमा रिना गुरुङ, सन्तोष शर्मा र खगेन्द्र गिरीको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन र निर्देशन सिर्जन बराल ऋषिले गरेका हुन्।
सानैदेखि गीत–संगीतमा रुचि राख्दै आएका भट्टले यसअघि पनि ‘तिम्रो छोरा दुख पाउँदैछ’, ‘तिमीलाई दिम्ला बैसको इन्टरभ्यु’, ‘म त तिमिलाई माया गर्छु’, ‘फोन आयो मोबाइलमा’ जस्ता चारवटा लोकप्रिय गीत बजारमा ल्याइसकेका छन्। ती गीतहरूमा चर्चित गायिका टिका पुन र सीता केसीले स्वरमा साथ दिएका थिए।
करिब एक दशकपछि पुनः सक्रिय भएका गायक भट्टले युरोपमा रहेर पनि निरन्तर नेपाली गीत–संगीतको संरक्षण र प्रवर्द्धनमा आफूलाई समर्पित राख्ने बताएका छन्। उनले आफ्ना सिर्जनाहरूलाई स्रोता तथा दर्शकले यथार्थमाथि आधारित भावनात्मक गीतका रूपमा लिन र माया–सहयोग गर्न पनि आग्रह गरेका छन्।










