बैतडी, भदौ २२गते।
२२औँ निजामती सेवा दिवस बैतडीमा विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।
दिवसको पूर्वसन्ध्यामा सदरमुकाम गेठालापानी क्षेत्रमा सरसफाइ, खुला ब्याडमिन्टन प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको थियो। मुख्य दिन आज स्थानीय सांस्कृतिक झाँकीसहित चिण्डो फोड, कुर्सी दौड लगायतका खेलकुद र मनोरञ्जनात्मक प्रतियोगिताले उत्साहपूर्ण वातावरण सिर्जना गरेको थियो।
जिल्ला सदरमुकामबाट ¥यालीसहित गढीस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा निजामती कर्मचारी, अन्य सेवा प्रदायक निकायका प्रतिनिधि, नागरिक समाजका व्यक्तित्व तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा खुला ब्याडमिन्टन प्रतियोगिताका विजेता टोली, उत्कृष्ट कार्यालय तथा दिवसका अवसरमा योगदान गर्ने सहयोगीहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले निजामती कर्मचारीले जनतालाई महसुस हुने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले असल काम र सकारात्मक व्यवहारमार्फतमात्रै जनताको विश्वास बढ्ने भएकाले निजामती कर्मचारीहरु सबै जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
यसै अवसरमा जिल्लाका सरकारी कार्यालयमध्ये नापी कार्यालय बैतडीलाई उत्कृष्ट कार्यालयको घोषणा गरिएको छ।
निजामती सेवासम्बन्धी ऐन पहिलोपटक वि.सं. २०१२ भदौ २२ गते जारी भएको स्मरण गर्दै वि.सं. २०६१ सालदेखि हरेक वर्ष यस दिनलाई निजामती सेवा दिवसका रूपमा मनाउने प्रचलन रहेको छ।










