केशव भट्ट,बैतडी, भदौ १६ गते ।
सुदूरपश्चिममा निरन्तर भइरहेको वर्षाका कारण जनजीवन कष्टकर बनेको छ। पहिरो र बाढीको जोखिम बढ्दै गएपछि दैनिक जीवन प्रभावित भएको छ भने गाउँबस्तीमा चहलपहल घटेको छ।
जनजीवन कष्टकर – वर्षाले खेतबारी डुबानमा पारेको छ। पाक्नै लागेको मकै खेतमै कुहिने अवस्था आएको छ। कतिपय घरभित्र माटो र पानी पस्दा स्थानीयवासीलाई असुविधा भएको छ। नुहाउने, पिउने र दैनिक प्रयोजनका लागि आवश्यक पानीसमेत प्रदूषित बनेपछि स्वास्थ्य जोखिम बढेको छ। लगातारको वर्षाले सुर्नया गाउँपालिका -२कटनोलिका स्थानीय ग्रिस बहादुर चन्दको घरमाथि बाट आएको पहिरोले आइतवार दिउसो दुईतले पुर्ण रुपमा क्षति भएको छ भमे पशु-चौपाया समेत मरेका छन।
सडक अवस्था – बैतडीका धेरैजसो स्थानीय तहका ग्रामीण सडकहरूमा पहिरो खसेपछि यातायात ठप्प भएको छ। ठाँउ-ठाँउमा सडक अवरुद्ध हुँदा बिरामी लैजान, विद्यालय जान र बजार आवतजावतमा समस्या भएको पर्चौडिनगरपालिका -७का नरेन्द्र साउदले बताएका छन।

पर्वमा असर – यसैबीच, सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा पनि वर्षाले प्रभावित भएको छ। सामूहिक नाचगान र पूजाआजामा सहभागी हुने महिलाहरू वर्षाका कारण खुलेआम रूपमा भेला हुन नसकेको स्थानी (महिला)धार्मिक अगुवा लक्ष्मी भट्टले जानकारी दिनुभयो । यस्तै दशरथचन्द नगरपालिका–२की पार्वती बोहराले भनिन्, “गौरा हाम्रो सबैभन्दा ठूलो पर्व हो, तर वर्षाले यसपालि खुला ठाउँमा गएर खेलखेल्न र भीडभाड गर्नै दिएन।”


प्रशासनको तयारी – विपद् व्यवस्थापन समितिले आकस्मिक अवस्थामा मात्र सवारीसाधन सञ्चालन गर्न आग्रह गरेको छ। रातिको समयमा अनावश्यक यात्रा नगर्न चेतावनी दिइएको छ। आकस्मिक घटनामा तत्काल परिचालित हुने गरी सुरक्षाकर्मी तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।










