spot_img

धार्मिक आस्था र सामाजिक सद्भावको प्रतीक गौरापर्व,आज अठ्यावाली मनाइँदै

- Advertisement -


वाशुलिङ (बैतडी), भदौ १५ गते । सुदूरपश्चिमेली समाजको पहिचान मानिने गौरा पर्व अन्तर्गत ‘अठ्यावाली’ आज सुदूरपश्चिम लगायत बैतडीमा उत्साहका साथ मनाइदै छ । हिजो गौराघरमा भित्र्याइएकी गौरालाई आज बिहानै महिलाहरूले गाउँका परम्परागत ‘गौरा खलामा’ लगेर पूजाआजा गर्ने चलन रही आएको छ ।

पूजाआजामा बिरुडाको प्रयोग
गौराको पूजनमा बिरुडापञ्चमीका दिन भिजाइएका पाचँ किसिमका अन्न–बिरुडाको प्रयोग गरिन्छ । सामान्यतया अन्य देवीदेवताको पूजामा अक्षता चढाउने परम्परा भए पनि गौरामा भने विशेषगरी बिरुडाले नै पूजा गर्ने चलन छ ।
दशरथचन्द नगरपालिका–१ का धार्मिक अगुवा पण्डित धर्मानन्द भट्टका अनुसार, गौरामा अक्षता होइन, बिरुडाको प्रयोग गर्नु नै यस पर्वको विशेषता हो ।


अठ्यावाली र धार्मिक कथा
आजको दिनलाई ‘अठ्यावाली’ भनिन्छ । यसमा दिनभरि महिलाहरूले गौरा–महेश्वरको उत्पत्ति, बाल्यकाल, विवाह र पारिवारिक जीवनका प्रसंग गाइन्छ । साथै देवी–देवता र ऋषिमुनिहरूको आगमनसम्बन्धी धार्मिक गाथा पनि महिलाहरूले सामूहिक रूपमा गाउने गर्छन । पूजन सकिएपछि गौरामा चढाइएका फलफूललाई सहभागीबीच बाँड्ने परम्परा छ, जसलाई ‘फल फट्काउने’ भनिन्छ । ब्रतालु महिलाले आजै नयाँ दुबधागो धारण गर्छन । यसलाई परिवारको सुख–समृद्धि र सौभाग्यसँग जोडेर हेर्ने परम्परा छ । बैतडीको सुर्नया गाउँपालिका निवासी कौशिला भट्टका अनुसार, ‘‘गौरापर्वमा पुरानो दुबधागो फेरेर नयाँ धारण गर्दा परिवारलाई दीर्घायु र सौभाग्य प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।”
खेलकुद र सांस्कृतिक अभिव्यक्ति
गौराको अवसरमा धार्मिक विधिसँगै सांस्कृतिक कार्यक्रम पनि उत्तिकै महत्वपूर्ण हुन्छ । गाउँ–घरमा परम्परागत ठाडो खेल, ढुस्को, धमारी जस्ता खेलहरू खेलिन्छन । महिलाहरू सामूहिक रूपमा भेला भई देउडा गीत गाउने प्रचलन अझै जीवित छ । यी गतिविधिहरू केवल मनोरञ्जन मात्र नभई सामुदायिक एकता र संस्कृतिको संरक्षणका प्रतीक मानिन्छन ।

धार्मिक महत्व
पौराणिक मान्यताअनुसार, हिमालयकी पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवलाई पति स्वरूप प्राप्त गरेकी थिइन । त्यसैले महिलाले यस पर्वमा सौभाग्य प्राप्तिका लागि निराहार व्रत बस्ने परम्परा छ । यो बर्षको गौरा शुक्ल पक्षमा परेको छ । शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको छ ।

सामाजिक सद्भावको पर्व
गौराले केवल धार्मिक आस्था मात्र होइन, सामाजिक र सांस्कृतिक पक्षलाई पनि जोडेको छ । यस अवसरमा टाढा–टाढा बस्ने परिवारका सदस्यहरू समेत घर फर्किने भएकाले गाउँमा पारिवारिक मिलन र भेटघाटको अवसर मिल्छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–७ का रामदत्त भट्टका अनुसार, ‘‘ गौरासँगै गाउँघरमा रमाइलो वातावरण छाउँछ । बसाइसराई गरेर गएकाहरू पनि फर्किदा पारिवारिक मिलन र सामाजिक सद्भाव बलियो बन्ने गरेको छ । ”
धार्मिक अगुवा धर्मानन्द भट्ट भन्नुहुन्छ, ‘‘ सुदूरपश्चिममा गौरालाई केवल देवीको पूजा मात्र नभई सामाजिक सद्भाव, सहअस्तित्व र सांस्कृतिक पहिचानको पर्वका रूपमा लिने गरिन्छ ।”



ऐतिहासिक पृष्ठभूमि
गौरा पर्वको प्रारम्भ कहिल्यै स्पष्टसँग लेखिएको छैन । तर धार्मिक ग्रन्थ र लोककथाअनुसार, कृष्ण पक्ष वा शुक्ल पक्षको पञ्चमीबाट यो पर्व सुरु हुन्छ । यसलाई कतै ‘धुम्र गौरा’ त कतै ‘अँधेरी गौरा’ भनेर पनि चिनिन्छ । गौरापर्वलाई महिला केन्द्रित चाड मानिन्छ, जसमा महिलाले आफ्नो परिवारको दीर्घायु र सौभाग्यका लागि कठोर व्रत बस्छन ।
करिव पाँचदिन सम्म मनाइने, गौरा पर्वलाई गाउँका सबै मिलेर उपयुक्त दिन मिलाएर सामुहिक रुपमा विसर्जन गर्ने गरिन्छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img