Iबैतडी : नेपाली कांग्रेस बैतडीले संगठन सुदृढीकरणका लागि व्यापक अभियान सञ्चालन गर्दै जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरेको छ।
डिलाशैनी गाउँपालिकामा आइतबार र सोमबार आयोजित कार्यक्रममा वडा सम्मेलन, क्रियाशील सदस्यता फारम वितरण तथा जेष्ठ सदस्य सम्मान जस्ता गतिविधि सम्पन्न गरिएका छन्।
कार्यक्रम अन्तर्गत वडा नं १, २ र ३ को संयुक्त सम्मेलन वडा नं २ मा सम्पन्न गरिएको थियो भने वडा नं ५ र ६ को संयुक्त कार्यक्रम गोकुलेश्वरमा सम्पन्न भयो।
दुवै कार्यक्रममा ७१ जना जेष्ठ क्रियाशील सदस्यलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो। कार्यक्रममा जिल्ला सभापति चतुरबहादुर चन्दसहित उपसभापति खगेन्द्रसिंह धामी, पूर्व सभापति नरेन्द्रसिंह थापा, सचिवद्वय प्रेमबहादुर चन्द र देवराज जोशी, कोषाध्यक्ष चक्रबहादुर चन्द, क्रियाशील सदस्यता छानबिन समिति संयोजक रमेश बोहरा लगायतको सहभागिता रहेको थियो।
हालसम्म जिल्लाका ५४ वडामा वडा सम्मेलन सम्पन्न भइसकेको छ र सबै वडाका जेष्ठ क्रियाशील सदस्यलाई सम्मान गरिएको सभापति चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।जेष्ठ क्रियाशील सदस्यले पार्टीका लागि पुर्याएको योगदानको कदर गर्दै सम्मान कार्यक्रमलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसको विधानअनुसार वडा सम्मेलन र क्रियाशील सदस्यता वितरण कार्य जारी रहेको संयोजक रमेश बोहराले जानकारी दिनुभयो।










