कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको निर्माणस्थलको नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुक्रबार निरीक्षण गरेका छन्।
पश्चिम नेपालका लागि महत्त्वपूर्ण मानिएको बन्दरगाह भारतीय लगानीमा निर्माण भइरहेको हो। निर्माणको जिम्मा पाएको सिओएमटी कन्स्ट्रक्सन प्रालि ले अहिले ‘साइट क्लेरेन्स’ अर्थात् स्थल खाली गर्ने काम अघि बढाएको छ।
उद्योगमन्त्री भण्डारीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा नेपाल–भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा सुक्खा बन्दरगाहको शिलान्यास गर्ने तयारी गरिएको छ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्रधानमन्त्रीस्तरबाट हुने शिलान्यासको पूर्वसन्ध्यामा निरीक्षण गरिएको जानकारी दिए।
परियोजनाअनुसार तीन वर्षभित्र बन्दरगाह निर्माण सम्पन्न गर्ने योजना छ। पहिलो चरणमा करिब २५ हेक्टर क्षेत्रफलमा गोदाम, भन्सार जाँच, क्वारेन्टाइन, इमिग्रेसन र सुरक्षा व्यवस्थापनलगायतका संरचना बन्नेछन्।
निर्माणस्थलमा रहेका करिब १,७०५ वटा रूख हटाएर जमिन खाली गरिएको र वातावरणीय प्रभाव मूल्याङ्कनसहित प्रारम्भिक अध्ययन प्रतिवेदन स्वीकृत भइसकेको समितिले जनाएको छ।










