बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–४, श्रीकेदारमा आगामी असोज १८ गतेदेखि रामलीला महायज्ञ सञ्चालन हुने भएको छ।
श्रीकेदार सांस्कृतिक संरक्षण समाजको आयोजनामा हुने महायज्ञलाई भव्य बनाउन आज आयोजित भेलाले ५६ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। समितिको संयोजकमा इन्द्रदेवशरण भट्ट, उप–संयोजकमा वडा अध्यक्ष तर्कराज भट्ट रहेका छन्। यस्तै सचिवमा विजयराज भट्ट, सहसचिवमा उमेश भट्ट र कोषाध्यक्षमा सुरेन्द्रराज कलौनी चयन भएका छन्।
समितिले महायज्ञ सफल बनाउन आवश्यक सबै तयारी अघि बढाउने सहसचिव उमेश भट्टले जानकारी दिए।
पात्र छनोट र तयारी-रामलीला नाटकमा सहभागी हुने पात्र छनोटको जिम्मेवारी बुद्धिबल्लभ धानुकको नेतृत्वमा रहेको सांस्कृतिक टोलीले लिएको छ। चाँडै पात्रहरूको तालिम सुरु गरिने आयोजकले जनाएको छ। महायज्ञ श्रीकेदार मावि पिपलकोटको प्राङ्गणमा हुने तय गरिएको छ।
‘अटुट संस्कृति हाम्रो श्रीकेदार’-“हामी सबैको एउटै सार, अटुट संस्कृति हाम्रो श्रीकेदार” भन्ने नारासहित स्थापना भएको श्रीकेदार सांस्कृतिक संरक्षण समाजले विगतदेखि नै सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
समाजका अध्यक्ष सुरेन्द्रप्रसाद भट्टका अनुसार रामलीला महायज्ञले भगवान रामचन्द्रले दिएको सत्य र निष्ठाको सन्देश जन–मानसमा पुर्याउने उद्देश्य लिएको छ।










