साउन २८गते बैतडी ।आगामी बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको सबै तयारी बैतडीमा पूरा भएको छ। गत चैतमा सम्पन्न एसईई परीक्षामा ननग्रेडेड भएका परीक्षार्थीका लागि भदौ ३ गतेदेखि ६ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने भएको हो।
शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्राविधिक सहायक रामचन्द्र भट्टका अनुसार जिल्लामा पूरक परीक्षाका लागि सात परीक्षा केन्द्र तोकिएका छन्। ती केन्द्रमा आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिका पठाइसकिएको छ।
यस वर्ष बैतडीबाट ७७० छात्र र ९११ छात्रा गरी १ हजार ६८१ परीक्षार्थी परीक्षा दिने छन्। परीक्षा बिहान ८ बजे प्रारम्भ हुने भएकाले निर्धक्क भएर सहभागिता जनाउन शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले आग्रह गरेका छन्।
परीक्षाका लागि विरेन्द्र मावि शाहीलेक, कृष्ण मावि पाटन, मणिलेक मावि काँडा मेलौली, अर्जुन मावि गाँजरी, नागार्जुन मावि शर्माली, सेटीगाउँ मावि ककरपाखा र डिलेश्वरी मावि हाट केन्द्र तोकिएका छन्।
ग्रेडवृद्धि परीक्षामा १२७ सामुदायिक र २ संस्थागत विद्यालयका परीक्षार्थी सहभागी हुनेछन्। गत चैतको एसईई परीक्षामा जिल्लाका १३३ सामुदायिक र ४ संस्थागत गरी १३७ विद्यालयका ४ हजार २१८ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये २ हजार २ सय ६ अर्थात ५२ दशमलव २९ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए। यस क्रममा ६ सामुदायिक र २ संस्थागत विद्यालयका सबै परीक्षार्थीले सफलता हासिल गरेका थिए।










