केशव भट्ट,बैतडी, साउन २७ गते ।
गोठलापानीस्थित जगन्नाथ बहुमुखी क्याम्पसले स्नातक तहमा विद्यार्थी भर्ना बढाउन विद्यालयस्तरीय अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ।
पछिल्ला वर्षमा स्नातक तहमा भर्ना हुनेको संख्या घटेपछि विद्यालयमै पुगेर विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न उत्प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको क्याम्पस प्रमुख डा. सुरेन्द्रकुमार बमले जानकारी दिनुभयो ।
सोमबार दशरथचन्द नगरपालिकाभित्रका निङ्गलाशैनी, मणिलेक, जोशीबुङ्गा र केदारनागार्जुन माध्यमिक विद्यालयमा पुगेर विद्यार्थीलाई क्याम्पसमा भर्ना हुन आग्रह गरिएको क्याम्पस प्रमुख बमले बताउनुभयो ।
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतको आंगिक क्याम्पसको रुपमा परिचित यस संस्थामा स्नातक तहमा शिक्षा, व्यवस्थापन र समाजशास्त्र संकाय तथा स्नातकोत्तर तहमा शिक्षा संकायको पढाइ हुने गर्दछ। अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने क्याम्पस प्रशासनले जनाएको छ।










