बैतडी, साउन २६ गते ।
बैतडीको डिलासैनी गाउँपालिका–४ जोखल्लीमा झाडापखालाका कारण एक बालिकाको मृत्यु भएको छ। मृतक १३ वर्षीया आरती रोकाया स्थानीय सुरेन्द्रबहादुर रोकायाकी छोरी हुन्।
स्थानीय भरत नेगीका अनुसार, आरतीलाई तीन दिनअघि झाडापखाला लागेको थियो। उपचारका लागि स्वास्थ्य संस्थामा नलगिएका कारण सोमबार बिहान करिब ५ बजे घरमै उनको मृत्यु भएको हो।
डिलासैनी–४ हाडाकोट स्वास्थ्य चौकीका इन्चार्ज बिरेन्द्र बोहराले आरतीको मृत्यु खानपानका कारण भएको फूड पोइजनिङबाट भएको प्रारम्भिक अनुमान गरेको बताए। उनका अनुसार, लगातार झाडापखाला र बान्ताका कारण मृत्यु भएको हो। यस विषयमा थप जाँचबुझका लागि स्वास्थ्य टोली घटनास्थलतर्फ पठाइएको छ।
घरका अर्को एक सदस्यलाई पनि यस्तै लक्षण देखिएको स्वास्थ्य चौकीले जनाएको छ।
महेश्वरी मावि न्वाघरमा कक्षा ८ मा अध्ययनरत आरतीको निधनपछि गाउँ शोकमा डुबेको छ। रोजगारीका लागि भारतमा रहेका उनका पिता छोरीको मृत्युको खबर पाएपछि घर फर्किने तयारीमा छन्।










