केशवराज भट्ट, बाशुलिङ्ग समाचारदाता, साउन २४ गते । बैतडीसहित सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रका बासिन्दाले आज धार्मिक आस्था, सांस्कृतिक र स्वास्थ्य चेतनासहित जनै पूर्णिमा, रक्षा बन्धन र क्वाटी खाने पर्व मनाइदै छ।
बिहानैदेखि नदीनाला, पोखरी र धारामा स्नान गरि पण्डित–पुरोहितमार्फत जनै फेर्ने, रक्षा सूत्र बाँध्ने र घर–घरमा क्वाटी पकाएर खाने चलन अनुसार रक्षाबन्दन मनाइरहेको पाटन नगरपालिका ८स्थानीय पण्डित हरि दत्त भट्टले बताउनुभयो ।
धार्मिक पृष्ठभूमि:जनै पूर्णिमा श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने वैदिक पर्व हो। पौराणिक कथाअनुसार भगवान् विष्णुले देवराज इन्द्रलाई असुरहरूबाट रक्षा गर्न लक्ष्मी देवीलाई रक्षा सूत्र बाँध्न लगाउनुभएको थियो। त्यही परम्पराको स्मरणमा आजका दिन हातमा डोरी बाँध्ने चलन रहेको पण्डित भट्टले बताउनुभयो ।
धार्मिक विश्वास छ। ब्राह्मण, क्षत्रिय र वैश्य जातिका पुरुषहरूले यस दिन नयाँ जनै धारण गर्ने परम्परा शास्त्रीय रूपमा अनिवार्य मानिएको उहाँले बताउनुभयो ।
रक्षा बन्धन पर्वमा दिदी–बहिनीले दाजु–भाइको हातमा राखी बाँधेर उनको दीर्घायु, स्वास्थ्य र सुरक्षा कामना गर्छन्। दाजु–भाइले बहिनीलाई उपहार दिने र जीवनभर रक्षा गर्ने वचन दिने चलन छ। सुदूरपश्चिमका पहाडी जिल्लामा राखीको स्वरूप साधारण डोरी वा पञ्चरङ्गी धागोमा आधारित रहेको पण्डित भट्टले बताउनुभयो ।
सुदूरपश्चिमको विशेषता:बैतडी, डोटी, डडेल्धुरा, बझाङ, बझुरा, अछामलगायतका पहाडी जिल्लामा बिहानैदेखि धारामा स्नान गर्ने भीड लागेको छ। बैतडीको पाटन, दसरतचन्द, मेलौली, सुर्नया , दोगडाकेदार लगयतका गाउँपालिकाका विभिन्न टोल-टोलमा पण्डितहरूले वैदिक मन्त्र उच्चारण गर्दै श्रद्धालुलाई जनै र रक्षा सूत्र बाँधिदिएका पाटन नगरपालिका ६का छविराज जोशीले बताउनुभयो ।
आजको दिनमा स्नान, मन्त्रसहितको रक्षा सूत्र र जनै फेर्ने कार्यले धार्मिक पुण्य प्राप्त हुने विश्वास रहेको सुर्नया गाउँपालिका-३ का पुरोहित लवदेव भट्टले बताउनुभयो ।
क्वाटी खाने परम्परा:यसै दिन क्वाटी खाने चलन पनि उत्तिकै महत्वपूर्ण छ। नौ प्रकारका अन्न (मसुरो, मुकुनी, भटमास, सिमी, मस्याङ, चना, गहत, मुकुनी केराउ र बोदिमा) मिसाएर बनाइने क्वाटी वर्षा ऋतुमा स्वास्थ्यका लागि लाभदायी मानिन्छ। जडीबुटी र मसालाले भरिएको क्वाटीले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने विश्वास रहेको पुरोहित भट्टले बताउनुभयो ।
जनै पूर्णिमा र क्वाटी खाने दिन आउँदा घरमा चहलपहल बढ्छ, पुराना पुस्ताले दिएको यो परम्परा हामी अझै जोगाइराखेका छौँ दसरतचन्द नगरपालिका -५ की ६५ वर्षीया रोहिना भट्टले बताउनुभयो ।
धार्मिक स्थलको भीड:बैतडीको त्रिवेणीघाट,ईश्वरी गंगाधाम, डोटीको सिलगढी, डडेल्धुराको उग्रतारा मन्दिर, बझाङको रुईनधारा,अछामको मंगलसेन, दार्चुलाको मालिकार्जुनमा बिहानैदेखि तीर्थालुहरूको भीड लागेको छ। कतिपय युवाले परिवारसँगै क्वाटी पकाउने र राखीको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्ने गरेका छन।
जनै पूर्णिमा, रक्षा बन्धन र क्वाटी खाने दिनले परिवार, समाज र स्वास्थ्यबीचको सम्बन्धलाई अझ मजबुत बनाउने काम गर्ने सुदूरपश्चिमका संस्कृतिविद् प्रेमराज जोशीले बताउनुभयो । उहाँले थन्नुभयो,यस्ता पर्वले हामीलाई पुर्ख्यौली परम्परासँग जोडिराखेको छ। त्यसैले पनि हामिले यस्ता मौलिक चाँड पर्वहरुलाई मनाइराख्नु आवश्यक छ।










